eNepal

पाउलोनिया अर्थात बोधसालबारे सम्पूर्ण जानकारीका साथै नेपालमा यसको व्यावसायिक उत्पादनको सम्भावना

पाउलोनिया वनस्पति नेपालको प्राकृतिक जैविक क्षेत्रमा पाइने रैथाने वनस्पति होइन । यसको रैथान क्षेत्र अर्थात् उत्पति स्थल हाम्रै उत्तरी छिमेकी देश चीनलाई मानिन्छ । करिब ६०–७० फिटसम्मको सुरिलो रुख र छरितो फेद, टुप्पामा लामा लामा हाँगामा दुई फिटसम्मका फराकिला र चौडा पात यो वनस्पतिको पहिचान हो । यो वृक्ष वसन्त ऋतुको आगमनसँगै नीलो र सेतो रङमा ढकमक फुल्दछ । यसको परिपक्व काठ पहेंलो र हल्का खरानी रङको हुन्छ । पाउलोनिया १७ प्रजातिका हुन्छन् भने तीमध्ये फोरचुनाई र टोमेन्टोसा प्रजातिका पाउलोनिया छिटो बढ्ने र करिब ८–१० वर्षमै काटेर उपयोग गर्न सकिन्छ । जापान र कोरियामा करिब एक हजार वर्ष पहिले नै यसको खेती सुरु गरिएको र १९ औं शताब्दी अर्थात् सन् १९४० ताका अमेरिका, युरोप, अष्ट्रेलिया तथा न्युजिल्यान्डसम्म यसले प्रवेश पाएको इतिहास छ । अमेरिकाको बन जङ्गल, बगैंचा, सडक, उद्यानमा यसले स्थान पाएको छ ।
पाउलोनियालाई नेपालीमा ‘बोधसाल’ भनिन्छ । यो एक युरोपियन राजकुमारी अन्ना पाभ्लोभ्नाको स्मृतिमा वैज्ञानिक नामकरण भएको चिनियाँ वनस्पति हो । जापानमा यो वनस्पतिलाई ‘किरी’ नामले चिनिन्छ भने यसलाई कतै कतै राजकुमारी तथा महारानी वृक्ष पनि भन्ने गरिन्छ ।

पाउलोनियाको मुख्य विशेषता भनेको तिब्र वृद्धि हो । यो वृक्ष रोपेको एक वर्षमा २० देखि ३० फिट आग्लो हुन्छ । ५–६ वर्षमा ६० देखि ७० फिट अग्लो हुन्छ र रोपेको ८–१० वर्षमा बहुउपयोगी काठहरू प्राप्त गर्न सकिन्छ । एउटा पाउलोनियाले रोपेको ८–१० वर्षमा कम्तीमा ३० देखि ३६ क्यूविक फिट काठ दिन्छ । एकपटक काटेको पाउलोनियाको फेदबाट फेरि अर्को मुना पलाउने हुँदा ८–१० वर्षको अन्तरालमा ४–५ पटक काट्न सकिन्छ ।

पाउलोनियाको काठ खँदिलो, किरा नलाग्ने, नमक्किने, नबाङ्गिने, नपसाङ्ग्रिने, नफुट्ने, धुँवाले असर नगर्ने, तापको कुचालक भएकोले छिट्टै आगो नलाग्ने, अन्य काठभन्दा ४० प्रतिशत हलुका हुनेजस्ता विशेषता भएकोले यसको उत्पादन र प्रयोग दिनप्रतिदिन बढिरहेको छ । यसको काठ फर्निचर तथा वाद्यवादक,
डुङ्गा, खेलौना, भवन, तेल, वाइन, वियर, फलफूलजस्ता पदार्थ प्याकेजिङ गर्न, हवाईजहाजको ग्लाइडर बनाउन, वायुयान तथा पानीजहाजको उपकरणहरू निर्माण आदि प्रयोजनमा प्रयोग गर्न सकिन्छ । त्यस्तै काठ चिरेर आएको धुलोबाट सिरानी, गद्दी, चकटी आदि बनाउन, चिस्यान यन्त्रहरूमा कुचालकको काम गर्न, गाईवस्तुको सोत्तरको रूपमा तथा घरभित्रको ओस भएको ठाउँमा प्रयोग गर्न सकिन्छ । यसको अंगारलाई उद्योगमा सक्रिय कार्बनको रूपमा र बोक्रालाई रङ बनाउन प्रयोग गर्न सकिन्छ ।
पाउलोनियाको हरियो पात र फूल पशुको पौष्टिक आहारका लागि उपयुक्त मानिन्छ । यसको पातमा चिनी र चिल्लोका साथै २० प्रतिशतसम्म प्रोटिनको मात्रा पाइनुका साथै यो ६० प्रतिशतसम्म पाचनयोग्य हुन्छ । वसन्त ऋतुमा फुल्ने पाउलोनिया मौरीपालनको लागि राम्रो चरन हुने गर्दछ । यसको फूल करिब एक महिनासम्म रहने हुनाले मौरी पालनबाट अर्गानिक मह उत्पादन गर्न सकिन्छ ।

यो नेपालको विभिन्न हावापानीमा हुर्कने भएकोले यसलाई तराईदेखि पहाडसम्म अर्थात् २१ सय मिटरको उचाईसम्म वृक्षारोपण गर्न सकिन्छ । यो वृक्ष अग्लो हुने भएकोले यसको मुनि बेसार, अनार, आँप, लिची, भुइँकटहरजस्ता अन्तरबाली लगाएर लाभ लिन सकिन्छ । ठूला बगैंचा, उद्यान तथा सडक किनारमा समेत यो वृक्ष उत्तिकै राम्रो मानिन्छ । वरिष्ठ वनविज्ञ डा. नगेन्द्रप्रसाद यादवका अनुसार पाउलोनिया वृक्ष प्रति हेक्टर दुई सय विरुवा लगाउन सकिने, यसको काठ अन्तर्राष्ट्रिय बजारमा प्रति क्युविक फिट रु १५ हजारसम्म पर्ने, यसको काठ विदेश निर्यात गर्न सकिने र नेपालमै अतिसस्तो अर्थात् कुकाठको मूल्यमा बिक्री गर्दा पनि प्रति वृक्ष रु.४० हजारदेखि रु.६० हजारसम्म आम्दानी गर्न सकिन्छ । उहाँ भन्नुहुन्छ, ‘जलवायु परिवर्तन तथा कार्बन शोषणको हिसाबले पाउलोनिया एकदमै छिटो बढ्ने विरुवा भएकोले यसले अन्य रुखले भन्दा दश गुणा धेरै कार्बनडाइअक्साइड शोषण गर्दछ र जति मात्रामा कार्बन शोषण गर्दछ त्यति नै पटक अक्सिजन उत्सर्जन गर्दछ । शोषण गरेको कार्बनलाई आफ्नो जराको काण्डमा सञ्चय गर्दछ । पात र जरामा भएको कार्बन पनि माटोमा मिल्न जान्छ जसले गर्दा माटो मलिलो हुनुका साथै वायुमण्डलको वरिपरि रहेका प्रदूषण घटाएर वातावरण स्वच्छ राख्न सहयोग गर्दछ र संसारमा बढिरहेको उच्च तापक्रमलाई न्यूनीकरण गर्न यसले सहयोग गर्दछ । ’

चिनियाँ वनस्पति पाउलोनिया बहुउपयोगी मात्र होइन चीनमा यो संस्कृतिसँग पनि जोडिएको छ । चिनियाँ परम्परामा पाउलोनिया छोरी जन्मेको उपलक्ष्यमा रोपिन्छ र पछि छोरीको विवाहमा त्यही वृक्ष काटेर उनको नयाँ परिवारका लागि फर्निचरलगायतका वस्तुहरू दाइजोको रूपमा दिन प्रयोग गरिन्छ । पाउलोनियालाई चीन, कोरिया तथा जापानमा राजकीय सम्मान प्राप्त छ । जापानको सरकारी निशाना छाप ‘लोगो’ मा पाउलोनियाको पात र फूलका लहर अङ्कित छन् । त्यस्तै जापानकै एक नम्बरी सुनमा पनि पाउलोनियाकै पात अङ्कित गरिएको छ ।

दुई दशक पहिले काठमाडौं उपत्यकाको गोदाबरीमा परीक्षणको रूपमा प्रवेश पाएको पाउलोनिया वनस्पति हाल नेपालको ४१ जिल्लामा परीक्षणको रूपमा खेती भइरहेको छ । कतिपय नर्सरीहरूले पाउलोनियाको व्यावसायिक उत्पादन गरी बिक्री वितरणसमेत गरिरहेका छन् । काठमाडौँं विश्वविद्यालयको वायोटेक्नोलोजी विभागले पनि चीनबाट पाउलोनियाको बीउ झिकाएर विरुवा उत्पादन गरी सर्वसाधारणलाई बिक्री वितरण गरिरहेको छ ।

बिस्तारै नेपालका विभिन्न स्थानहरूमा पाउलोनियाको खेती भइरहेको छ, कृषकहरू यसतर्फ आकर्षित भइरहेका छन् । वन मन्त्रालयले पाउलोनिया वनस्पतिको सबै पक्षको बारेमा अनुसन्धान गर्न तराई र पहाडका ५–५ स्थानमा आधा–आधा हेक्टर जमिनमा पाउलोनियाको अनुसन्धान केन्द्र बनाएको छ ।
पाउलोनिया वनस्पति उपगोगी हुँदाहुँदै पनि यो वनस्पति मिचाहा, आक्रमणकारी के हो यसको स्वतन्त्र निक्र्यौल हुन भने सकेको छैन । वातावरण संरक्षण नियमावली २०५४ मा ‘एलियन तथा इन्भ्यासिभ’ प्रजातिका वनस्पति नेपाल भित्र्याउनु अघि प्रारम्भिक वातावरणीय परीक्षण गर्नु पर्ने प्रावधान छ । चीनको रैथाने प्रजाति पाउलोनियाको बीउविना परीक्षण र अनुसन्धान नेपाल भित्रिएको बताइन्छ । पाउलोनियाको विरुवा नेपालको प्राकृतिक वनमा रोपियो, हुर्कियो र कालान्तरमा यसले मिचाहा र आक्रमणकारीको प्रवृत्ति देखायो भने जैविक विविधता संरक्षणमा वर्षौदेखिको लगानी खेर जाने हो कि भन्दै कतिपय विज्ञले चिन्ता व्यक्त गरेका छन् । तर वरिष्ठ वनस्पतिविद् तथा संरक्षणकर्ता डा. तीर्थबहादुर श्रेष्ठका अनुसार सन् २००५ मा आईयुसीएन नेपालले तयार पारेको नेपालका मिचाहा एवं परचक्री विरुवाको सूचीमा १६६ वनस्पतिमध्ये पाउलोनियाको नाम छैन । उहाँ भन्नुहुन्छ, ‘अहिलेसम्मको अनुभवमा यो वृक्षले सबैतिर अतिथिकै सम्मान पाएको छ । मिचाहा र आक्रमणकारीको दर्जामा दरिएको छैन । तथापि पाउलोनिया हाम्रो उपयोगी अतिथि हो वा मिचाहा–आक्रमणकारी हो, यसले नेपालको पर्यावरणमा नकारात्मक प्रभाव पर्छ वा पार्दैन एवं मानव स्वास्थ्यमा हानी नोक्सानी पुर्याउँछ वा पुर्याउँदैन आदि कुराको स्वतन्त्र निक्र्यौल गर्नु वाञ्छनीय हुन्छ । ’

हालसम्मको पाउलोनियाको इतिहास, विकासक्रम र उपयोगितालाई हेर्दा यसको नकारात्मक पक्षभन्दा सकारात्मक पक्ष बलियो देखिन्छ तर यसो भन्दैमा यो प्रजातिलाई त्यतिकै छाडा छाड्न नमिल्ने र नियन्त्रणमा राखेर यसको संरक्षण, प्रवद्र्धन गर्नु बुद्धिमानी हुने डा. श्रेष्ठको सुझाव छ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

Manoj Poudyal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

Manoj Poudyal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

Manoj Poudyal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

Manoj Poudyal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349