एजेन्सी -इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आफ्नो नवौं खेलमा किंग्स ११ पन्जाबले मुम्बई इन्डियन्सलाई दोश्रो सुपर ओभरमा पराजित गर्दै १३औं संस्करणमा तेश्रो जित हात पारेको छ ।
दोश्रो सुपर ओभरमा पहिले ब्याटिङ गरेको मुम्बईले ११ रन बनाउन सक्यो भने १२ रनको लक्ष्य लिएर ब्याटिङमा आएको पन्जाबले चार बल खेल्दै जित दर्ता गर्यो ।
पहिलो सुपर ओभरमा पन्जाबले पाँच रन मात्र बनाउन सक्यो भने पाँच रनको लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको मुम्बईले पनि पाँच रन नै बनाउंदा खेल दोश्रो सुपर ओभरमा पुग्यो ।
जितका लागि १७७ रनको चुनौती लिएर ब्याटिङ गर्न आएको पन्जाबले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १७६ रन बनाउन सके पछि खेल सुपर ओभरमा गएको हो ।
पन्जाबको लागि कप्तान केएल राहुलले सर्वाधिक ७७ रन बनाए । ओपनिङमा आएका राहुल १७ दशमलब तीन ओभरमा जस्प्रित बुम्राको बलमा बोल्ड हुनु अघि ५१ बलको सामन गर्दै सात चौका र तीन छक्का प्रहार गरे । आजको खेलमा राहुलले यस सिजन आफ्नो व्यक्तिगत रन संख्या पनि पाँच सय कटाए ।
राहुल पेभेलियन फर्किंदा पन्जाबलाई जितका लागि १५ बलमा २४ रन आवस्यक रहेको अवस्थामा दिपक होडा र क्रिस जोर्डनले छैठौं विकेटका लागि मात्र २३ रन जोड्न सक्दा खेल सुपर ओभरमा गयो । अन्तिम बलमा दुई रन चाहिए पनि आठ बलमा १३ रन प्रहार गरेका जोर्डन रन आउट हुँदा पन्जाब रोमान्चक जित दर्ता गर्नबाट बन्चित रह्यो । अविजित रहेका होडाले १६ बलमा २३ रन बनाए ।
पन्जाबका अन्य ब्याट्सम्यानमा मायंक अगरवाल ११, क्रिस गेल २१ बलमा २४ रन, निकोलस पुरण १२ बलमा २४ रन, ग्लेन म्याक्सवेल दुई बल खेल्दै डक आउट भए ।