काठमाडौं -सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि अस्ट्रेलियाका राजदूत पिटर बडले बिदाई भेट गरेका छन्।
आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लागेका उनले सोमबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बिदाई भेटघाट गरेका हुन्।
भेटमा सभामुख सापकोटाले नेपाल र अस्ट्रेलिया दुबै देश कोभिड–१९ र जलवायु परिवर्तन चुनौती को सामना गरिरहेको बताउँदै चुनौतीका बीचमा नयाँ सम्भावना खोजिनु पर्नेमा जोड दिए। सभामुख सापकोटाले हालै नेपाल र अस्ट्रेलियाबीच सुरु भएको सिधा हवाई सेवा आगामी दिनमा समेत सुचारु रहने विश्वास व्यक्त गरे।
उनले नेपालमा रहेका भुटानी शरणार्थी व्यवस्थापन र भूकम्पका बेला गरेको सहयोगप्रति आभार व्यक्त गर्दै अस्ट्रेलियाले नेपालमा गरिरहेको बहुआयामिक सहयोग जारी राख्ने विश्वास व्यक्त गरे।
बिदाई भेटमा राजदुतले नेपाल र अस्ट्रेलियाबीच सुरु भएको सिधा हवाइ सेवा आगामी दिनमा व्यवसायिक रुपमा अघि बढ्ने विश्वास व्यक्त गरे। दुई देशबीच सहकार्यको लामो इतिहास रहेको चर्चा गर्दै राजदूत बडले आगामी दिनमा अस्ट्रेलियाबाट ऊर्जा क्षेत्रमा थप लगानी हुने जानकारी दिए।