eNepal

तरकारी खेतीबाट मनग्य आम्दानी बिदेशमा भन्दा स्वदेशमा कमाइ राम्रो

तरकारी खेती-जीवनको केही समय मलेसियामा पसिना बगाउँदै बिताए पनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर माटोसँग खेल्दै तरकारी खेतीमा लागेका जर्नादनको जीवनमा बल्ल हरियाली छाउन थालेको छ । मायादेवी गाउँपालिका—५ सेमरनाका जर्नादनप्रसाद चाइको दुई वर्ष मलेसियामा पसिना बगाउँदैमा बित्यो । गरीबीका कारण घर खर्च चलाउन नसकेपछि मलेसियाको बाटो समाएका चाइले त्यहाँ पसिना बगाए पनि खासै राम्रो कमाइ गर्न नसकेपछि घर फर्किनुभयो । घर फर्केर हलो र कोदाली बोकी आफ्नै खेतको माटोमा पसिना बगाउन थालेपछि चाइले आम्दानी गर्न थाल्नुभयो ।
“शुरुशुरुमा तरकारी खेतीबाट खासै राम्रो कमाइ गर्न नसके पनि मैले हिम्मत हारिन”, उहाँले भन्नुभयो, “कतिले मलाई विदेशमा त कमाउन नसकेको मान्छेले जाबो माटोमा पसिना बगाएर के कमाउला भनेर गिज्याए पनि । तर म आफ्नो काममा लागिरहेँ, अहिले तरकारी खेतीबाट राम्रो आम्दानी भइरहेको छ ।” चाइलाई अहिले तरकारी खेतीमा भ्याइनभ्याइ छ ।
“करीब लाख रुपैयाँ खर्चेर मलेसिया पुगेका चाइ त्यहाँको एउटा फर्निचर उद्योगमा काम गर्न थालें”, उहाँले भन्नुभयो, “सबै खर्च कटाएर जसोतसो मासिक १५ हजार रुपैयाँ बचाउँथे । राम्रो कमाई हुन नसकेपछि अब आफ्नै गाउँघरमा केही गर्नुपर्छ भनेर दुई वर्षपछि स्वदेश फर्किए ।” स्वदेश फर्किएर तरकारी खेती गर्ने निधो गरेर त्यसमा लागे र अहिले तरकारी खेतीबाटै राम्रो आम्दानी भइरहेको उहाँको भनाइ छ । “यही माटोमा पसिना बगाउन थालेपछि मैले बुझे विदेशमा बगाउने पसिना आफ्नै माटोमा बगाउने हो भने पैसा यही फल्दोरहेछ”, उहाँले भन्नुभयो, “विदेश गएपछि बल्ल मलाई चेत आयो । मैले मेरा सन्तानलाई स्वदेशमै परिश्रम गरे पैसा फलाउने माटो चिनाइ दिएँ ।”
भैरहवा लुम्बिनी सडकखण्डको सेमरनामा ६ विगहा जग्गा लिजमा लिएर जर्नादनको परिवारले तरकारी खेती गर्दै आएका छन् । उहाँले भन्नुभयो, “तरकारी खेती हाम्रो पुख्र्यौली पेशा पनि हो ।” अहिले जर्नादनको खेतबारीमा गोलभेँडा, काँक्रो, करेला लटरम्मै छ । खेतबारीमा फलेको तरकारीसँगै उहाँको घरपरिवारमा खुशी र सन्तुष्टि पनि छाएको छ ।
तरकारी खेतीका लागि उर्बर जमिन भएपनि प्रयाप्त लगानी नहुँदा उत्पादन बढाउन नसकिएको गुनासो जर्नादनको छ । गाउँपालिकाले कोभिड— १९ को राहत भन्दै रु। २० हजार दिएपनि अन्य सहयोग कतैबाट पाउन नसकेको उहाँको भनाइ छ । आफ्नो खेतबारीमा उत्पादित तरकारीको बजार अभाव नभएको बताउँदै उहाँले उत्पादित तरकारी व्यवसायीले बुटवल र भैरहवाबाट गाडी लिएर नै खेतबारीमा आइपुग्छन् भन्नुभयो ।
त्यस्तै सिद्धार्थनगरपालिका—९ गोनहियामा साढे चार विगहा जग्गामा तरकारी खेती गर्दै आउनुभएका विष्णु आचार्यले पनि मासिक ५०÷५५ हजार रुपैयाँ कमाउन विदेशिनु नपर्ने बताउनुभयो । उहाँले स्थानीय विन्दावासिनी मन्दिरको जग्गा १५ को वर्षका लागि लिजमा लिएर व्यवसायिक तरकारी खेती गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “कोरोना महामारीको बेला पनि कृषि एम्बुलेन्सले तरकारी खरिद गरेर लगियो । बजारको समस्या हुँदै होइन, उत्पादन बढी गर्नुपर्छ, व्यवसायीले खेतबारीबाट नै तरकारी खरिद गरेर लान्छन् ।”
रुपन्देहीको मर्चवार क्षेत्रको समरीमाई, कोटहीमाई र मर्चवारी गाउँपालिकाको अधिकांश घरपरिवारको मुख्य आम्दानीको स्रोत नै कृषि उत्पादन हो ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349