eNepal

युवालाई स्वरोजगार बनाउन ल्याइएका नीति सरल बनाइ युवा स्वरोजगार बढाइने

काठमाडौं – युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले युवालाई स्वरोजगार बनाउन ल्याइएका नीतिलाई सरल बनाइने बताएका छन्। राष्ट्रिय युवा परिषद्ले सोमबार आयोजना गरेको स्वरोजगार कोषमा युवाका अवसर विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा उनले स्वरोजगार बनाउनका लागि भएका नीतिगत समस्यालाई चाँडै संशोधन गरेर युवालाई बजेट अनुसार स्वरोजगारमुखी बनाइने बताए। यस आर्थिक वर्षमा सङ्घ र प्रदेशले करिब ७६ अर्ब रुपैयाँ युवाका लागि बजेट विनियोजन गरेको छ।

उनले बजेटअनुसार युवालाई जोड्ने कार्य सरकारले गरिरहेको समेत जानकारी दिए। ‘विकास र समृद्धिको मेरुदण्ड युवा भएकाले ति युवालाई स्वदेशमा नै कसरी परिचालन गर्ने भन्नेमा सरकार रहेको छ’, उनले भने, ‘युवा नीति श्रम, सीप र उत्पादनसँग जोड्ने गरेर ल्याइने छ, मुलुकको विकासका लागि युवालाई राष्ट्रिय उत्पादनसँग जोडिने छ।’

उनले कोरोना भाइरस (कोभिड–१९)का कारणले युवालाई स्वरोजगार बनाउने काम सूचारु हुन नसकेको भन्दै कोभिड–१९ को सामान्य अवस्था आउने बित्तिकै युवाका क्षेत्रमा काम हुने धारणा राखे। उनले कोभिड–१९ को कारणले विश्वभर रोजगार गुमाएका युवा नेपाल फर्किएकाले ति युवालाई स्वरोजगार बनाउने चुनौति रहेको बताए।

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले एकिकृतरुपमा समन्वय गरेर युवालाई स्वरोजगार बनाउने कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। उनले युवालाई तालीम तथा ऋण प्रवाह गरेर मुलुकमा नै स्वरोजगार बनाइने बताए। उनले युवाका क्षेत्रमा काम गर्ने सरकारी निकाय एकै मातहत भए परिमाण निकाल्न सजिलो हुने धारणा राखे। ढुंगेलले सरकारले घोषणा गरेका युवालाई स्वरोजगार बनाउने कार्यलाई प्रभावकारी कार्यन्वयनका लागि परिषद्ले दबाव दिने प्रतिवद्धता जनाए।

गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल भट्टराईले यस आर्थिक वर्षमा एक लाख ५० हजार युवालाई स्वरोजगार बनाइने स्पष्ट पारे। यसका लागि कोषले १९ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको उनले जानकारी दिए। उनले एकिकृतरुपमा स्वरोजगार बनाउने कार्यक्रम गर्न सके प्रभावकारीरुपमा हुने धारणा राखे।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी)का उपाध्यक्ष खगेन्द्र अधिकारीले युवालाई तालिम दिएर परिषद्ले स्वरोजगार बनाउने गरेको बताए। उनले यसवर्ष २३ हजार युवालाई तालिम दिएर स्वरोजगार बनाउने उल्लेख गरे। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेस्फुन)का अध्यक्ष परितोष पौडेलले स्वरोजगार हुन चाहने युवालाई आफूहरुले ऋण प्रवाह गरिरहेको बताए। उनले ३५ हजार युवालाई प्रत्यक्ष रुपमा नेस्फुनले ऋण प्रवाह गरिरहेको जानकारी दिए।

युवा तथा साना स्वरोजगार कोषका उपाध्यक्ष डा. कल्याण रोकाले कृषि क्षेत्रलाई प्राथमिकता दिएर कोषले ऋण उपलब्ध गराउने बताए। उनले पहिले सहकारीमार्फत युवालाई ऋण प्रवाह गरेपनि अब अन्य किसिमले ऋण प्रवाह गरिने बताए। उनले स्वरोजगारमार्फत अन्यलाई रोजगार बनाउन सक्ने जो सुकैलाई पनि ऋण प्रवाह गर्न सहयोग गर्ने जनाए। यस वर्ष कोषले १२ हजार युवालाई स्वरोजगार बनाउने उनले जानकारी दिए।- रासस

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal