एजेन्सी- ब्राजिल तथा फ्रेन्च क्लब पिएसजीका स्टार फरवार्ड नेइमारले खेलकुद सामग्री उत्पादन गर्ने चर्चित कम्पनी नाइकसँगको सम्झौता अन्त्य गर्ने भएका छन् । सो कम्पनीसँग २८ वर्षीय नेइमारको १५ वर्ष लामो सम्झौता अन्त्य हुने भएको हो । ब्राजिलियन पत्रिकाका अनुसार नाइकसँग नेइमारको सम्झौता अगस्ट ३१ बाट औपचारिक रूपमा सकिनेछ ।
नेइमार र नाइकबीच नयाँ सम्झौताको रकममा सहमति नबन्दा सम्झौता अन्त्य भएको नाइकले जानकारी दिएको छ । नाइकसँग सकिएको सम्झौता गर्दा १५ वर्षका लागि ७८.६ मिलियनमा साझेदारी बनेको थियो । १५ वर्षअघि यो सझौता हुँदा नेइमार मात्रै १३ वर्षका थिए । उनले व्यावसायिक फुटबल सुरु नगर्दै नाइकले उनीसँग सम्झौता गरेका थिए । त्यसबीचमा एकपटक सम्झौता नवीकरण भएको थियो ।
नाइकसँग सम्झौता हुँदा नेइमार ब्राजिलकै क्लब सान्तोषको एकेडेमीमा थिए । नेइमार त्यसबेला युवा टोेलीमा चम्किरँदा सो क्लबका लागि नाइकले नै सामान उत्पादन गर्ने गर्थ्यो । पछि नाइकले नेइमारसँग लामो सम्झौता गरेको हो ।
रिपोर्टअनुसार नेइमार जर्मनीको खेलकुद सामाग्री उत्पादन गर्ने कम्पनी पुमासँग सम्झौता गर्ने तयारीमा छ । नाइकसँग सम्झौता अन्त्य भएपछि अब त्यसको घाटा क्लब पिएसजीलाई पनि पर्नेछ । नेइमार बार्सिलोना छाडेर पिएसजी गएदेखि पिएसजीले नाइकबाट ७० मिलिन युरो कमाइ गरेको थियो ।