eNepal

यसरी जितीन् उनले कोराना

कोरोना लागेको सङ्केत

सामान्य दिन, हामी सबैको काम थियो। उनी पनि काममा गएकी थिईन्। सनसाईनको एक नर्सीङ होममा। घर नजिकको काम थियो। खासै कोरोना सङ्क्रमित थिएनन् रे त्यो होममा। आफुले गर्न पर्ने बिहानी कामहरु गर्दै थिईन्। प्राय सबैको पहिला कोरोना नेगेटिभ आएको थियो। पछि एकाएक दिउँसो खबर आयो केहीको रिपोर्ट पोजिटीभ आयो रे। मन चिसो भएछ। कताकता डरका बादल मडारीन लागेछन्। त्यस पछि मान्छेको मन न हो सङ्का अनि उपसङ्का । उसलाई सङ्का के लागेको रहेछ भने एक कोठाबाट अर्को कोठिमा जाने क्रममा मुखबाट माक्स निकाल्दा आँखामा परेको थियो। त्यहि कुराले उसलाई सताई रह्यो। काम सकेर घर आईन्। त्यहि त हो छोरी सानी छिन्। खासै बुझ्ने बेला भएको छैन। आमा बाहिरबाट आउँदा कसको छोरा छोरी झ्यामिदैनन् होला र। ममी भन्दा झ्याम्म जाई लाग्ने छोरीलाई हामीले सम्झाएको थियौ। अहिले कोरोना छ, बाहीरबाट आएको कसैलाई पनि हगी गर्न हुँदैन किनकी कोरोना सर्छ। 

छोरोको जहिले पनि बाबा अनि ममी बाहिरबाट घर आउँदा केही न केही सर्प्राईज गर्ने बानी छ। कहिले लेगोको घर बनाएर यो बाबा अनि ममीको भनेर क्लोज योर आईज भनेर सर्प्राई दिने त कहिले घरको कुनै कुनामा लुकेर हामीले खोज्न पर्ने। कहिले कलर पेन्टिङ गरेर त कहिले लडेको घाउ देखाउँदै  हामीलाई सर्प्राईज दिने बानी।

ममी कामबाट आउँदा झ्यामिन खोज्दा कति पटक गाली गर्थे। जान हुन्न ममी कामबाट आएको छ फ्रेस हुन्छ अनि जाने ल छोरी भन्दा मसँग रिसाउँथी। बाबा ईज सो रूड, बाबा ईज मिन भनेर आँखा भरी आँसु पारेर रुन्थी। हामी बिवश थियौ कारण एउटै मात्र थियो कोरोना। यदि कतैबाट कोरोना आएको रहेछ भधे बच्चालाई नसरोस भनेर सँधै सजगता आप्नाउँ थियौ।

केही दिन घरमा आराम गरेपछि उसलाई घाँटी दुख्न थाल्यो, सुख्खा खोकी लाग्न थाल्यो।केही असहज जस्तो लागे पछि आफै ड्राईभ थ्रुबाट कोरोना टेस्ट गर्न गईन्। टेस्टको रिजल्ट नआईनजेल घरनै बस्न पर्ने भयो। मैलेपनि टेस्ट गराएको थिएँ केही दिन अगाडी तर मेरो नतिजा शुक्रबार नेगेटिभ आएको थियो म ढुक्क भएँ कि उनको पनि नेगेटिभनै आउँछ भनेर। त्योबेला सम्म हामीले खासै गम्भीर रुपमा लिएका थिएनौ। म बिश्वस्त थिएँ उसको पनि नेगेटिभ आउँछ।घरको सामान्य कामहरु गरि रहेकी थिईन्। सोमबार मेरो काम थियो। काममा जानलाई तयारी अबस्थामा थिएँ। 

शनिबारको दिन थियो, एकछिन सपिङ गर्न पर्यो भनेर टार्नेट तिर हुँईकिए। उसको कोभीड टेस्टको रिजल्ट आएको थिएन। गएर तरकारी अनि मासु लिएर आउँछु भनेर गएको थिए बिहानको चिया पिएर। नयाँ फोन लिएको हप्तादिन मात्रै भएको थियो। गाडीमा ब्लुतुथ सेटअप गरेको थिईन्। सामान लिएर फर्किने क्रममा थिए।गोजीमा भएको मोबाईल भाईब्रेट गर्न थाल्यो। गाडीमा जोडेर बोल्न सकिने अवस्था भएन। कसले गर्यो होला भन्दै घरको बाटो फर्किदै थिए।फेरी भाईब्रेट गर्यो फोन। फोन झिकेर बोल्नलाई पनि डरनै थियो। पुलिसले भेटेमा ढाड सोझीने गरि फाईन लगाउँछ भन्ने डरले उठाउने हिम्मत गरिन। एकछिनमा घर पुगि हाल्छुनी जस्तो भयो। तेस्रो पटक पनि फोन आएपछि गोजीबाट फोन झिके नानुको फोन थियो। डर लाग्यो कतै केही भयो कि भनेर।गाडी गुडि रहेको थियो। रोकेर बोल्न समेत दिमागमा आएन। सिधै फोन उठाएँ। भूक्कु कहाँ हो तपाई – उनले सोधीन्। मैलै जबाफ दिएँ घर फर्किदै छु। ए छिट्टो आउनु ल मेरो पोजीटीभ देखियो। म झसङ्ग भए। नौनारी गलेर आयो। गाडी मैले कुदाएको छु कि छैन मेसो केही पाईन। घर आएँ। स्वर्णीम र नानुले मुखमा माक्स लगाएर बसेका रहेछन्। त्यति बेला सम्म हामी लिभीङ रुममै गफ गरेरनै बसि रहेका थियौ। मैले मुख टुलूटुलु मात्र हेरे। अब म आफै आत्तीएपछि झन् उनको के हालत हुन्छ भनेर केही हुँदैन भन्दै सम्झाए।उसको लागि छुट्टै कोठाको व्यबस्था गरे। छोरीका खेलौनाका सामानहरु अर्को कोठामा सारेर उसलाई त्यहि बस्ने व्यबस्था गरे। अन्तत: धेरै सजगता अप्नाउँदा अप्नाउँदै पनि घरमा कोरोना पस्यो।

त्यो रात

त्यो रात मेरो जीवनको अविस्मरणिय रात बन्न पुग्यो।एकातिर जन्मे देखि पाँचबर्षको पुग्दा सम्म कुनै रात आमाको काखबाट टाडा नरहेकी छोरीलाई आमा बिना सुताउनु पर्ने चुनौती थियो। छोरी भन्छिन् मामु कतिबेर आउँछ। मलाई मामु चाहियो के बाबा। म छोरीलाई मामु अव चौध दिन आउन मिल्दैन छोरी भन्दै सम्झाउन्थे तर उ मान्दिन थिई। मामुलाई त कोरोना भयो छोरीलाई नसरोस् भनेर म सम्झाउँथे। एकछिन मोबाईलमा काटुन हेरिन्जल ठिक हुन्थ्यो। फेरी ममीलाई सम्झिन्थी अनि बाबा ममी चाहियो भन्थी। आउ छोरो बाबाले च्यापेर सुताउँछु भनेर ढाढ चिलाई दिन्थे। त्यतिकैमा निन्द्रादेवीको काखमा लुटुपुटु भई छिन्। छोरी त सुतीन तर मलाई भने निन्द्रा लाग्दैन थियो। मनमा नानाभातीका कुरा खेलि रहन्थ्यो। बिश्वास त थियो कोरोनालाई  जित्छिन मेरी नानुले तर चिन्ता यो थियो कि टिभी र भिडीयोमा देखिएका बिभीन्न समाचारको। समाचारमा देखिएका लाशका तस्बीर, प्लास्टिकको पोकालाई खाडलमा लगेर फालिएको देख्दा मन क्षतबिक्षत हुन्थ्यो।चाहेर पनि सँगै बस्न नसकिने, आफ्नै मान्छेसँग पनि डराएर बस्नु पर्ने। केही दिदा पनि परबाट दिन पर्ने। हुन त म छुत अछुतमा कहिलै बिश्वास नराख्ने मान्छे। दर्जी आण्टीले पकाएको राँगाको मासु धेरै चोटी खाएको छु कोठा भित्रै गएर। तर आफ्नै मान्छेलाई परबाट पानी अनि खाना लगेर राख्दिदा मन कती भारी भएर आउँथ्यो। त्यो शव्दमा लेखेर सक्दिन। एउटा घरमा बसेर पनि फेसच्याट गर्न विवश भए। पक्कै छोरीलाई खुट्टा बोकाएर सुत्ने नानु कसरी पो सजिलै निदाउँथीन् होली। फोन लगाए। दुई घण्टीमै फोन उठाईन्। छोरी निदाईन् भनेर प्रस्न गर्दा दुबैका आँखा भरि आशु आए। निदाएकी छोरी तिर फोनको क्यामरा घुमाएर देखाउँदै बल्ल बल्ल सुताएँ अव तिमी सुत अनि बिहान उठेर मन तातो पानीले कुल्ला गर, योगा गर है भनेर फोन राखे। यस्तो बिकर्सीत देशमा यति धेरै साबधानी अप्नाउँदा त यसरी सर्दो रहेछ कोरोना भने झन् नेपालमा फैलिएको समाचारले सुत्न सकसनै भयो। नभन्दै रात छर्लङ्ग बिते।

बबीनसँगको फोन

नलाग्नु कोरोना त लागि सक्यो। अब यसलाई नजिकबाट मितेरी गाँसीसकेका एनआरएनए भिक्टोरीयाका युथ कोअडीनेटर बबीनसँग के गर्ने भनेर सल्लाह लिन फोन लगाए। उनीसँग मेरो केही दिन देखि कुरा भई रहेको थियो। न्युजको लागि अपडेट लिन पनि ववीनसँग सम्पर्कमै थिएँ। मैले उनको अवस्थाबारे समुदाएलाई थाहा दिन भिडीयो बनाउन आग्रह समेत गरेको थिए। फोनमा के छ खबर भनेर सोधे पछि आफ्नै घरमा कोरोना भित्रीएको ब्रेकीङ न्युज दिए। भाउजुको रिपोर्ट पोजीटिभ आयो भनेपछि उसले कत्ति पनि अत्तालिनु पर्दैन भनेर सान्तावना दिदै आफुले गरेका क्रियाकलापहरु मसँग सेयर गरे। मिल्छ र सकिन्छ भने होटल भन्दा घरमै बस्न आग्रह गर्दै खानपिनमा बिशेष ध्यान दिन अनि झोलिलो पदार्थ धेरै मात्रमा पिउन र शरीरको रोग क्षमता शक्ति बढाउने चक्की खान आग्रह गरे। 

आत्मबल

मलाई थाहा थियो यो रोगको औषधी भनेको मात्र आत्मबल हो। आत्मबल बलियो भयो भने यस्ता जाबो कोरोना सोरोना चैट हुन्छ तर मान्छेका भेन्टिलेटरमा राखिएका भिडीयोले झन् मुटु फुलेर फुट्ला जस्तै हुन्थ्यो।अनि चिन्ता नलिउ भन्दा पनि मनमा अनेक प्रकारका कुराहरु आइहाल्थे । तर, रोगसँग लड्न आत्मबल पनि चाहिन्छ भन्ने मैले बुझेको थिएँ । र सबै कुरा बिर्सिएर भए पनि आत्मबल र आत्मविश्वासमा कमी हुन नदिइनँ म उसलाई आग्रह गरि रहन्थे। अन्य सङ्क्रमितहरुसँग कुरा साटासाट गर्न लगाएँ। मैले चिनेको अनि आमसन्चार माध्यममा प्रभावकारी छाप बनाउन सफल दिकपालदेव पङ्गेनी दाईको श्रीमती पनि कोभीड पोजीटिभ भएको खबर पाए पछि मैले भाउजुसँग पनि रायसल्लाह लिन आग्रह गरे। भाउजुको र उसको सिम्टम्स लगभग उस्तै रहेको र दैनिक रुपमा के के गरि रहनु भएको छ त्यहि अनुरुप आफुलाई पनि लैजान मद्दत मिल्ने भएपछि उहाँले दिनु भएको सल्लाह अनि सुझाबले पनि उनमा थप आत्माबलको काम गर्यो।

बेसार पानी

हुन त हामी साधारण रुघाखोकी लाग्दा पनि बच्चादेखि नै बेसार अधुवा पानी खाएर हुर्केको ज्यान। घाँटी दुख्दा पनि बेसार पानी खाएर ठिक हुन्थ्यो। कोरोना लाग्नु अगाबै देखि प्राय हामीले नियमित रुपमा बेसार पानी खायौ। हुन त केपी बाका कुरालाई हामीलेनै खिल्ली उडायौ। तर कोरोना भगाउने अचुक औषधी बेसार पानी, कागती पानी, अधुवा, घरमा भएका ज्वानो, जिरा पानी हामीले अत्याधिक मात्रमा नै खायौ। यो खाए पछि ठिक हुन्छ भन्ने मनको सन्तोषले पनि होला उनीले दिनको तिनचार चोटी सम्म पनि पिईन्। 

छिमेकी दाई भाउजुले लगाएको त्यो गुण

गुण भन्ने चिज मर्दा र पर्दा मात्र थाहा हुन्छ भन्थे बुढापाकाले।बस्ने ठाउँ गतीलो भएसी छिमेकी जस्ता भएनी केनै फरक पार्छ र भनिन्थ्यो। आखिरी यहाँ कसलाई कसको महत्व हुन्छ र जस्तो लाग्छ। तर छिमेकी भन्ने चीज चाहिने रहेछ भन्ने महसुस भयो। सायद दाई युगेन्द्र र भाउजु सन्जिवनीको साथ सहयोग अनि मायाँ नपाएको भए थाहा छैन हामी कति अत्तालिने थियौ होला। तर उहाँ हरुले हरेक दिन फोन गरेर के छ खबर, कस्तो छ अहिले बहिनीलाई भनेर फोन गर्दा कस्सम लाग्यो छिमेकी दाई भाउजुको रुपमा हामीले हिम्मत, आत्मबल बढाउने चक्की अनि मायाँको न्यानो छहारी पायौ। 

अझ ढोका अगाडी कहिले खसीको सुप, कहिले क्वाटी राखी दिएर, फोन गरेर सुप राखि दिएको छु है भन्दा बेदु र स्वर्णिमका आँखाबाट कैयौ पटक आँशु बगेको देखियो। धेरै धन्यबाद दाजु भाउजु।

स्वर्णीमले माक्स अनि ग्लोभ्स लगाएर दिएको  मसाज

म अलिक डढाएको थिए उनको नजिक नजानको कारण एउटै थियो यदि मलाई पनि कोरोना लागी हाल्यो भने छोरीको बिजोग हुन्छ। कम्सेकम मसँग त खेली रहेको, सुती रहेकी छ, सँगै बसेर खाई रहेकी छ। यदि म पनि छुट्टै बस्नु पर्यो भने के गर्छे होली भन्दै म अलिक बढी सजगनै रहे। हुन त स्वर्णीम आफै पनि नर्स अनि यहाँ पनि त्यहि बिषय पढिरहेकी र काम पनि वृद्ध हेरचाह केन्द्रमा गर्दै गरेको भएर होला उसमा कोरोना बिरुद्द लड्ने शक्ति उच्च थियो। केही पनि हुँदैन माक्स र ग्लोब्स लगाए पछि, डराउनु पर्दैन भन्दै खाना लग्दिने, खाएको प्लास्टिकको प्लेट र गीलास बिनमा लगेर फालिदिने अनि साँझमा मज्जाले ज्यानमा मसाज पनि गर्दिन।यसबाट के पनि थाहा भयो भने सँगै बस्दैमा, सँगै खादैमा कोरोना चाही सर्ने रहेन छ। पिपीईको सही प्रयोग र दुरी निभाएर सजग भएर बसेमा कोरोना सरी हाल्ने चाहि रहेन छ।

भिडीयो दिएको मनोबल

कोरोना लागेको तीन दिन सम्म त उसलाई सार्है गार्होनै भएको थियो। निरन्तर खोकी लाग्ने, छात्ती दुख्ने, दम लागेको जस्तो हुने भईनै रहेको थियो। दुई दिन पछि उसले खाएको स्वाद केही पनि आएको छैन भन्दै थिईन्। नाकले गन्ध पनि केही पाएको छैन भन्थिन्। तर भोक चाँही लागि रहने रहेछ। त्यस पछि उसले एउटा भिडीयो बनाईन्।भिडीयो अपलोड गर्दा उनलाई केही गार्हो महसुस भएको थियो। हामीले अस्पताल पो जाने हो की भन्दा उनी मानिनन्। घरकै उपचारले म ठिक हुन्छु भन्ने आत्माबिस्वास थियो। भन्थिन मेरो शरीरबाट कोरोना गई सक्यो। बेला बेलामा पिएको बेसार पानी, कागती पानी, योगा, अदुवा र ज्वानोको झोल पिएर ठिक हुन्छु भन्ने विस्वासमा थिईन्। त्यपछि भिडीयो अपलोड भएपछि आएका म्यासेज, फोन अनि सिघ्र स्वास्थ्य लाभका कमेन्टबाट उनको झन् मनोबल बढ्यो। मलाई मायाँ गर्ने कति धेरै हुनुहुँदो रहेछ भनेर खुसी मानीन्। यसले झन उनमा आत्माबल बढेर आयो।

परिवारको नेगेटीभ रिजल्ट देखिए पछि 

एघार दिनको दिन क्लोज कन्ट्याक्टमा रहेका सबैले म्यान्डेटोरी कोभीड टेस्ट गर्न पर्ने थियो। म, छोरी मनबी अनि स्वर्णीम बिहानै वेरेबीको पेसीफिक प्लाजामा ड्राईभ थ्रु टेस्ट गर्न गयौ। मान्छे त्यसै डिप्रेसनमा जाने रहेन छ भन्ने कुरा बल्ल मलाई त्यतिबेला फिल भयो। मलाई गाडी चलाउननै डर लाग्यो, घरबाट बाहिर जान नपरे नि हुन्थ्यो जस्तो लाग्यो। करिब दश दिन पछि गाडी चलाउँदा हात काँपेका थिए। दश चोटी गाडी ढोगेर गाडी चलाएँ। गाडी चलाएर जब मेनरोडको बाटो लागे पिँजडाको चरा पिँजडाबाट फुत्केर खुल्ला आकाशमा उढेको महसुस गरे। केही बेरमा टेस्ट गरियो अनि सिधै घर आयौं। अब झन् मुटुको धड्कन बढ्दै गयो। रिजल्ट पोजीटिभ पो आउने होकी भन्दै डरले रातभरी निन्द्रा लागेन। उनको टेस्टको लागि घरमै नर्स आउने व्यबस्थापन गरे। 

भोली पल्ट करिब दश बजे तिर फोनमा म्यासेज आयो हामी तीनै जनाको नेगेटीभ भनेर। त्यो बेला लाग्यो कोरोना भाईरस बिरुद्धको नोबेल पुरस्कारनै हात परे जसो किनकी हामी सबै परिवार के रिजल्ट आउँछ होला भनेर त्रसीत थियौ।

उसलाई पनि दुई दिन पछि डिपार्टमेन्टले रिलीज लेटर दियो अनि हामीले पनि हिजै मात्र नो मोर क्वारेन्टाईन भनेर म्यासेज पायौ।अन्ततः हामीले कोरानालाई परास्त गर्न सक्यौ। उनमा पनि क्रमीक रुपमा धेरै सुधार हुँदै गएको छ।आशा छ चाँढै उनी पहिलाको जस्तै अबस्थामा आउछिन्।

कोरोनाको औषधी भनेको नै आत्मबल र हौसला रहेछ।यो बेला भौतीक र शारिरिक समस्या भन्दा पनि मानसिक समस्याले धेरै पिरल्दो रहेछ।यो बेला उत्पन्न हुने मानसिक तनाव, डिप्रेसन, तनाव, चिन्ता रोग, अनिन्द्रा आदिले थिच्ने रहेछ त्यहि हो तपाई यि कुरासँग कतिको लढ्न सकनु हुन्छ। यो मामलामा भने उनी यसका बिरुद्ध लढ्ने शिकारीनै रहिछन् ताकि हामीलाई समेत कुनै सङ्केत दिईनन्।

योबेला सरकारबाट प्राप्त काउन्सेलीङ, एनआरएनएले एम्डासँग मिलेर गरेको जुम मिटीङ लगाएत दैनिक जसो डिपार्टमेन्टले गरेको अपडेटले थप मनोबल बढ्यो। कोरोनाबाट निको भएकी एक बद्ध आमाको भिडीयोले झन् उनमा हिम्मत बढेर आयो। 

र अन्त्यमा यो बिषम परिस्थितीमा साथ सहयोग र हिम्मत जुटाउने समस्त दाजुभाई दिदीबहिनी, साथीसङ्गी, ईस्टमित्र लगाएत एनआरएनए भिक्टोरीया, दिदीबहिनी समाज भिक्टोरीया, रोशनी श्रेष्ठ दिदी, फुड बैंकलाई धेरै धेरै धन्यबाद।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349