काठमाडौं-सरकारले दुबईको एयरपोर्ट पुगेर पनि स्वदेश फर्कन नपाएका नेपालीलाई ल्याउन अनुमति दिएको छ । गत मंगलबार उनीहरुलाई लिन नेपाल एयरलाइन्सको विमान दुबई पुगेको थियो । तर, अन्तिम समयमा सीसीएमसीले कोही पनि उद्धार उडान गरेर ल्याउन नदिएपछि निगमको विमान खाली फर्किएको थियो । जसका कारण सरकारको चौतर्फी विरोध भएको थियो ।
यो विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र सीसीएमसीका संयोजकसमेत रहेका रक्षामन्त्री ईश्वर पोख्रेलबीच विवादसमेत भएको थियो
उक्त उडानबाट नेपाल आउन तयार भएर पनि आउन नपाएका यात्रु ल्याउन सरकारले अनुमति दिएको नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।
“हिजो मन्त्रिपरिषद्ले निर्णय गरेर गत मंगलबारको उडानबाट नेपाल आउन नपाएका यात्रुलाई ल्याउन अनुमतिसहितको पत्र निगममा आएको छ,” उनले भनिन् । निगमले २ सय ६२ जनालाई आइतबार नेपाल ल्याउनेछ ।
सीसीएमसीको निर्णयका कारण सबै प्रक्रिया पूरा गरेर एयरपोर्ट पुगिसकेका समेत नेपाल आउन पाएका थिएनन् । एयरपोर्टसम्म आइसकेका यात्रु नेपाल फर्कन नपाएपछि विचल्लीमा परेका छन् । तर, सोही दिन टर्किस एयरलाइन्सले भने २०१ यात्रु लिएर नेपाल आएको थियो ।