तीजको अवसरमा गएको बर्ष लगभग डेढ दर्जन जति कार्यक्रम भएका थिए मेल्बोर्नमा। मेल्बोर्नका नेपालीहरुलाई भन्दा नेपालबाट आएका कलाकारलाई भ्याई नभ्याई भएको थियो।रातारात गरेर एउटा स्टेटबाट अर्को स्टेट दौडधुप हुन्थ्यो कलाकारको।
मेल्बोर्नका प्राय नेपालीहरुलाई एकैदिन दुई तिनवटा कार्यक्रम जुधेर तनाब भएको अवस्था थियो। घरमै पनि महिनौ दिन देखि तीजका कार्यक्रम हुने गर्थे। रङ्गीबिरङ्गी साडीमा नाच्दै फेशबुक लाईभ आएर माहौलनै तीजमय हुन्थ्यो।
तर यो बर्षको तीज मोल्बोर्नमा बस्ने नेपालीहरुको लागि केही खल्लो भएको थियो। कोरोनाको महामारी अनि मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध रहेको छ। यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन नमिल्ने अवस्था रहेको छ।
यसको प्रभाव धुमधामसँग मनाईने चाड तीजलाई समेत परेको छ। पाँच किमी भन्दा टाढा जान निषेध गरिएको अवस्थामा साथीभाई जमघट गरेर रमाईलो गर्ने अवसरबाट बन्चित भएका छन् भने यतै माईतीघर हुने चेलीहरु पनि जानबाट बण्चित हुनु परेको छ।
गएको बर्ष न्याभ, दिदीबहिनी समाज भिक्टोरीया, मेल्बोर्न नेप्लिज कम्युनिटी वेस्ट, गुल्मी समाज भिक्टोरीया, क्रेगीबन नेपाली समाज लगाएत दर्जनौ नेपाली सँस्थाले तीजको अवसर पारेर तीज बिशेष कार्यक्रमहरु आयोजना गरेका थिए जहाँ उल्लेखनीय दर्शकको उपस्थिती रहेको थियो भने नेपालबाट आएका कलाकारले राम्रै दाम लिएर समेत गएका थिए। तर यो बर्ष कोरोनाको कारण न कलाकारनै बिदेश आउन पाए न यहाँका दर्शकले प्रत्यक्ष रमाईलो गर्ने अवसर।
दिदीबहिनी समाज भिक्टोरीयाको सिग्नेचर कार्यक्रमको रुपमा रहेको तीज कार्यक्रमपनि यो बर्ष कोरोनाको कारण भएको छैन जसले बिगत पाँच बर्ष देखि बर्षेनी तीजको कार्यक्रम गर्दै आई रहेको थियो। नारीहरुको हक र हितको लागि सदैब आवाज उठाउँदै दिदीबहिनी समाजले हरेक बर्ष तीज कार्यक्रम गरेर नेपालको मध्य पश्चिम क्षेत्रका यौन तथा घरेलु हिंसामा परेका महिलाहरुलाई सहयोग गर्दै आएको थियो। हाल सम्म ७५ पिडीत महिलाहरूलाई सहयोग गरिसकेको दिदीबहिनी समाजले ११,००० ऑस्ट्रेलीयन डलर पठाई सकेको छ। गत बर्ष मात्रै सबैभन्दा बढी ४,००० ऑस्ट्रेलीयन डलर पठाएको र यो बर्ष ५,००० ऑस्ट्रेलीयन डलर पठाउने लक्षका साथ सहयोगको लागि अपील गरेको छ। विस्वब्यापी कोरोनाको महामारीका कारण यो बर्ष यस सँस्थाले नियमित रुपमा मनाउने गरेको तीज पनि नमनाउने भएको छ।
यौन तथा घरेलु हिंसामा परेका महिलाहरुले भोग्न परेको जटिल र पीडादायी जीवनलाई सामान्यिकरण गर्ने लक्षलाई सफलिभूत तुल्याउन सबैसंग सहयोगको आह्वान समेत गरेको छ। अनलाइन सहयोगको लागि यो लिंक https://dbsv.org.au/donate-us/ मार्फत गर्न सक्नुहुनेछ।
त्यस्तै गुल्मी समाज भिक्टोरीयाले बिगत केही बर्ष देखि धुमधाम तीज मनाउँदै आएकोमा यो बर्ष भने कोरोनाको कारण अनलाइन तीज नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ। अष्ट्रेलिया, नेपाल र न्युजिल्याण्डबाट सहभागी हुन पाउने यस प्रतीयोगीताका दश प्रतीस्पर्धीको भिडीयो आफ्नो अफिसीयल पेज गुल्मी समाज भिक्टोरीयाबाट पोस्ट गरि सकेको छ। गुल्मी समाज भिक्टोरिया र नेपअस क्रियुले संयुक्त रुपमा आयोजना गरिएको यस प्रतियोगितामा अगस्ट १९ सम्म भिडियो पठाउनको लागि अनुरोध गरिएको थियो। प्राप्त भएका भिडियो मध्येबाट बम बहादुर कार्की, मन्जु पौडेल, सायद श्रेष्ठ, कृति खनाल, विदुर सिवाकोटी सहितको निर्णायक मण्डलले उत्कृष्ट दश भिडियो छनोट गरेको थियो। सामाजिक संजालबाट आउने प्रतिक्रियाको लागि ३० अङ्क र निर्णायक मण्डलले गर्ने मूल्यांकनको लागि ७० अङ्क गरि कसको भिडीयोले कति लाईक पाउँछ त्यसको आधारमा २२ तारिख अर्थात ऋषि पंचमीको दिन प्रथम, द्वितीय र तृतीय बन्न सफल प्रतीयोगीहरुको नतीजा निकाल्दै क्रमश ७५०, ५०० र २५० डलर पुरस्कार राशी दिने आयोजक गुल्मी समाज भिक्टोरीयाका अध्यक्ष गान्धी प्रसाद भट्टराईले जानकारी गराउनु भएको छ।