काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भोलि सोमबार सचिवालय बैठक बोलाएको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विवादमा समाधान खोज्न कार्यदल गठन गरेपछि वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले विधि पद्धतिको मुद्दा उठाएका थिए ।
नेतात्रयले शनिबार पार्टी अध्यक्ष प्रचण्डलाई भेटेर पार्टी सचिवालयको बैठक राखेर कार्यदल गठन गर्नु उपयुक्त हुने धारणा राखेका थिए । स्रोतका अनुसार त्यसअनुसार नै सोमबार विहान साढे ९ बजे सचिवालय बैठक बोलाइएको हो । बैठकले कार्यदललाई औपचारिकता दिने सम्भावना छ ।
पार्टी विवादको समाधानका लागि गठन भएको कार्यदलको कार्यादेश निर्धारण गर्न सचिवालय बैठक बस्नु पर्ने उनीहरूको तर्क थियो । साउन ३ गतेदेखि नेकपा सचिवालय बैठक बस्न सकेको छैन । साउन ३ गतेको बैठकमा मंसिरमा अर्ली महाधिवेशन गर्न प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी ओलीले प्रस्ताव गरेका थिए । बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहमति जनाए पनि बैठक पछि भने आफू अर्ली महाधिवशेनको पक्षमा नरहेको स्पष्ट पारेका थिए ।
त्यसयता नेकपाभित्रको विवाद थप चर्किँदै गएको छ । साउन १३ गते प्रधानमन्त्री ओलीले एकतर्फी रूपमा स्थायी कमिटी बैठक स्थगित गरेको भन्दै अर्का अध्यक्ष प्रचण्डले बैठक आयोजना गरेका थिए । बैठकमा ओलीइतर समूहका २९ जना स्थायी कमिटी सदस्य उपस्थित थिए ।
शुक्रबार दुई अध्यक्षले विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल बनाएपछि भने नेकपा विवाद समाधानउन्मुख बन्दै गएको नेताहरूको दाबी छ ।