काठमाडौं-विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट एक सातामा विदेशमा रहेका २८ नेपालीको मृत्यु भएको छ। भारतमा २५, र साउदी अरेबियामा दुई र दक्षिण अफ्रिकामा एक जनाले ज्यान गुमाएका हुन्।
यससँगै कोरोना संक्रमणका कारण विदेशमा ज्यान गुमाउने नेपालीको संख्या एक सय ८९ पुगेको गैरआवासीय नेपाली संघले जनाएको छ।
विश्वका ३८ देशमा रहेका नेपाली कोरोना भाइरसको शिकार भएका छन्। सबैभन्दा बढी भारतको महाराष्ट्रमा रहेका नेपालीमा कोरोना संक्रमण पाइएको संघले लण्डनबाट आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ। त्यस्तै, लक्जम्बर्गमा पारिवारिक जमघटमा भेला भएका ३५ नेपाली एकैपटक संक्रमण पुष्टि भएको विज्ञप्तीमा जनाइएको छ।
यसैबीच संघले हालसम्म कोरोना भाइरको कारण विदेशमा अलपत्र ३७ हजार ४२४ जनालाई सम्बन्धित देशस्थित नेपाली दूतावास र कूटनीतिक नियोगलगायत अन्य स्थानीय निकायसँगको समन्वयमा स्वदेश फर्काइएको बताएको छ। अलपत्र परेकालाई नेपाल फर्काउन ५४ उडानको व्यवस्था मिलाइएको संघले जनाएको छ।