काठमाडौँ – जाजरकोटमा विषालु च्याउको तरकारी खाँदा एकै घरका चारजनाको मृत्यु भएको छ । कुशे गाउँपालिका(१ स्याँक्रीकी एकै घरका थप तीनजना बालबालिकाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मंगलबार मृत्यु भएको हो । एक बालिकाको सोमबार गाउँमै मृत्यु भएको हो । यही साउन ९ गते जंगलबाट च्याउ टिपेर घरमा ल्याइ पकाएर खाएका टेकबहादुर चलाउनेसहित परिवारका ८ जना गम्भीर बिरामी परेका थिए ।
बिरामीमध्ये टेकबहादुरकी १६ वर्षीया छोरी औसरा, १३ वर्षीया छोरी धनसरा र ११ वर्षीया नातिनी निरुताको उपचारको क्रममा मृत्यु भएको प्रदेश अस्पतालका मेडिकल विभाग प्रमुख डाक्टर केएन पौडेलले जानकारी दिए । टेकबहादुरकी ३ वर्षीया छोरी अञ्जनाको भने यसअघि सोमबार गाउँमै मृत्यु भएको थियो । विषालु च्याउ खाएर गम्भीर बिरामी भएका सात जनालाई गाउँपालिकाले नेपाली सेनाको हेलिकोप्टर चार्टर गरी उपचारका लागि सोमबार नै सुर्खेत पुर्याएको थियो ।