काठमाडौं – आजदेखि चार दिन देशभर भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागले सोमवारदेखि चार दिनसम्म पर्ने पानीले पहिरोको सम्भावना बढेको भन्दै सचेत रहन आग्रह गरेको छ । मनसुन शुरु भएयताको वर्षाले पहाड र चुरे क्षेत्रका अधिकांश भू—भाग खोलेको भन्दै विभागले अब पर्ने पानी झनै घातक हुने अनुमान गरेको हो ।
विभागले ‘विशेष मौमस तथा बाढी बुलेटिन’ जारी गर्दै आज अपराह्नबाट १६ गतेसम्म मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहिरहने बताउदै । पर्याप्त जलवाष्पयुक्त हावा पनि भित्रिरहने सम्भावना रहेकाले ३–४ दिनसम्म मनसुन सक्रिय हुने जानकारी दिएको हो ।
‘देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भई प्रदेश ५, गण्डकी, कर्णाली, सुदूरपश्चिम तथा बागमती प्रदेशका केही स्थानमा तथा प्रदेश नम्बर १ र २ का थोरै स्थानमा भारी वर्षा भई पहिरो तथा बाढीको जोखिम भएकाले सतर्कता अपनाउन हुन अनुरोध छ,’ विभागको विज्ञप्तिमा भनिएको छ ।
विभागका अनुसार साउन १३ गतेदेखि १५ गतेसम्म विशेषगरी गण्डकी, कर्णाली, सुदूरपश्चिम र प्रदेश नम्बर ५ का मध्य पहाडी भूभाग भई बहने जलसतह उल्लेख्य बढी र केही सतर्कता तह आसपास पुग्ने सम्भावना छ ।