काठमाडौं – राजधानीको सीतापाइलामा युवतीलाई एसिड प्रहार गर्ने युवाहरुको भाग्ने योजना असफल भएको छ । उनीहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
ती युवाहरुले एसिड प्रहार गरेर भारत भाग्ने योजना बनाएको पनि खुलेको छ । प्रहरीले केही घण्टाभित्रै उनीहरुलाई पक्राउ गरेर भारत भाग्ने योजना असफल बनाइदिएको छ ।
विहीबार साँझ सीतापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने दुई युवाहरुलाई काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले डल्लुबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद रहेका छन् । उनीहरुलाई एसिड प्रहार गरेको केही घण्टापछि बिहीबार राति ११ बजे डल्लुबाट प्रहरीले पक्राउ गरेको हो ।
आफूले मन पराएको केटीले अर्कै केटालाई मन पराएको भन्दै विहीबार साँझ दही किन्न निस्किएकी ओखलढुंगाकी २२ वर्षीया युवती पवित्रा कार्कीमाथि एसिड प्रहार गरेका थिए । उनीहरुले ट्वाइलेट–बाथरुम सफा गर्ने एसिडको प्रयोग गरेको खुलेको छ ।
प्रहरीले सीसीटीभी फुटेजमा देखिएको हुलियाको आधारमा उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।