काठमाडौँ – साउन शुक्ल चतुर्दशी दिन आइतबार गठेमंगल अर्थात घण्टाकर्ण पर्व मनाईँदै छ । बिहानैदेखि विभिन्न शक्तिपीठमा भक्तजन पुगेका छन् । तर यो वर्ष कोरोना भाइरसको महामारीका कारण त्यति भिड छैन ।
यस पर्वलाई नेवार समुदायले ‘सिनाज्या ब्यंकेगु’ अर्थात रोपाइँ सकिएको पर्वको रूपमा मनाउने गर्दछन्।
आजको दिन नेवार समुदायले बिहानै घरमा लिपपोत गर्नुका साथै शुद्ध भएर विभिन्न शक्तिपीठको दर्शन गरी त्यहाँको जल ल्याएर घरघरमा छर्कने प्रचलन रहँदै आएको छ ।
नेवार समुदायमा आजदेखि परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरु गरिनुका साथै गाइजात्रामा प्रदर्शन गरिने विभिन्न भैरव नाच तथा व्यंग्यले भरिपूर्ण नाटकको प्रशिक्षणसमेत दिइन्छ।
नेवार समुदायका विभिन्न चाडमध्ये यस पर्वलाई पहिलो र छोराको चाडका रुपमा मनाउने गरिन्छ । यो पर्वमा गर्नुपर्ने अधिकांश विधि पुरुषहरुले गर्ने भएकाले पनि छोराको चाड भन्ने गरीएको हो । भुतप्रेत पन्छाउनका लागि नर्कटलाई छवाली, सिस्नो , नांगलो, कर्कलो लगायतका सामग्रीले सजाएर दोबाटो वा चौबाटोमा लगेर राखिन्छ ।
घरभित्र र बाहिरका फोहोरलाई सरसफाई गरी यसलाई व्यवस्थित रुपमा बिसर्जन गरी भुतप्रेत पन्छाउने नाम दिए पनि यो पर्व सरसफाईको प्रतिकका रुपमा मनाउने विशिष्ट पर्व भएको संस्कृतिविदहरुको भनाई छ ।
रोपाइँ अवधिभर सरसफाईलाई ध्यानदिन नपाउने र यसबेला विभिन्न किरा फठयांग्राले दुःख दिने भएकाले यसलाई पन्छाउन भुतप्रेतको संज्ञा दिई फोहोर सरसफाई गरी यो पर्व मनाइने गरेको हो ।
गठेमङ्गल’ पर्वका दिन एकजना व्यक्तिलाई घण्टाकर्ण नाम गरेको राक्षसको सन्तानको प्रतिकका रुपमा नियुक्त गरी उसको काजक्रिया गर्ने भन्दै पैसा माग्न लगाइन्छ । यो दिन राति राँको बालेर भूत भगाउने चलन छ । बेलुकी घण्टाकर्णको पुत्ला घिसार्दै नजिकैको खोलामा लगेर जलाउने गरिन्छ । घण्टाकर्णलाई सेलाएपछि घरका दैलामा फलामको तीनखुट्टे वा पाँचखुट्टे किला ठोकी फलाम, पित्तल वा तामाका औँठी लगाउने चलन छ ।भक्तपुरमा मल्लकालीन नगरका दोबाटो र चौबाटोमा हाँडीमा दही च्यूरा, सम्यबजी राखेर भूतप्रेत मन्छाउने चलन पनि छ ।पौराणिक कथन अनुसार दुवै कानमा घण्ट झुण्ड्याई आहाराको खोजीमा निस्कने घण्टासुर राक्षसलाई मार्न एकजना तान्त्रिकले भ्यागुताको रुप लिएर धाप भएतिर बाटो देखाईदिँदा राक्षस धापमा गाडिएको र सबैजना जम्मा भई त्यसलाई मारेको सम्झना स्वरुप घण्टाकर्णको प्रतिकका रुपमा नर्कटको प्रतिमा बनाईन्छ ।