काठमाडौं -कोरोना भाइरसको महामारी सँगै बन्द भएको पशुपतिनाथको मन्दिर आज सम्म खुलेको छैन । मूल भट्टले गर्ने नित्य पूजा नियमित रुपमा भइरहे पनि सर्वसाधारणका लागि भने मन्दिर खुला गरिएको छैन ।
नियमित पूजाका लागि मन्दिर कहिले खुल्छ भन्ने कुरा थाहा नभएको पशुपति क्षेत्र विकास कोषको भनाइ छ । “सरकारसँग कुरा भइरहेको छ सरकारको निर्णय कुरेर बसिरहेका छौं,” सरकारले निर्णय गरेको अवस्थामा दर्शनार्थीका लागि मन्दिर खुला गर्ने सम्पूर्ण तयारी पूरा गरिएको छ भनि पशुुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले भनेका छन्।
साउनको सोमबार पशुपतिनाथ मन्दिरमा ब्रतालुको भीड लाग्ने गर्थ्यो, तर यस पटक लकडाउनका कारण ब्रतालुले साउनमा पर्ने सोमबारमा पशुपतिनाथमा गएर पूजा गर्न पाउँछन् कि पाउँदैनन् अन्योल रहेको छ ।
आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले मन्दिर खुला गर्ने तयारी थाल्न कोषलाई निर्देशन दिएका थिए । स्वास्थ्य सुरक्षा प्रोटोकल बनाएर पूजा गर्ने व्यवस्थाको तयारी गर्न मन्त्री भट्टराईले निर्देशन दिएका थिए ।
कोरोना संक्रमणको जोखिम बढे संगै गत चैत १० गतेबाट पूजा आजा र भिडभाड गर्न प्रतिबन्द लगाइएको थियो।