काठमाडौं -साउन महिना, नारीहरुका हातभरि चुरा र मेहेन्दी अनी बिवाहित महिलाको गलामा हरीयो पोते नेपाली समाजमा पर्यायवाची शब्द जस्तै बनेका छन्।
साउन यस्तो विषेश महिना हो जहाँ साना बालिकादेखि हजुरआमा सम्मको एउटै फेसन देख्न पाइन्छ। हातभरी हरीयो चुरा र मेहेन्दी अनी हरीयो पोते। विवाहित महिलाले साउनमा हरियो चुरा हातमा मेहन्दी लगाउनाले श्रीमानको आयु बढ्ने र अविवाहिता महिलाले लगाए मनले चिताएको पूरा हुने धार्मीक विश्वार पनि रहिआएको छ।
एकातिर साउन महिनासँग हरीयो चुरा र मेहेन्दीको धार्मीक, सांस्कृतिक महत्व जोडिएको छ भने अर्को तिर नयाँ पुस्तामा यो फेसन बनेको छ।
साउन महिना सुरु भएसँगै बजारमा हरीयो चुरा,पोते र मेहेन्दीको रौनक यस्तो देखिएको छ। साउन महिन सुरु भए सगै यस महिनमा पर्ने सोमवारको पनि त्यहितकै महत्व रहेके छ । साउन शिवजीसँग जोडिएको महिना हो । साउन महिनामा शिवको पूजा गरे सबै देवताको पूजा गरेबराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास छ । साउन महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले यो महिनालाई विशेष रूपमा लिइन्छ । विशेष गरी साउनको सोमबार शिवजीको व्रत एवं पूजा गर्ने चलन छ । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको किम्वदन्ती सुनेका हुनाले महिलाहरूले यसलाई बढी महत्त्व दिन्छन् ।
साउनको महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ । महिनाको अरू दिन नसके पनि सोमबार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।
साउन महिना नै शिवलाई बढी प्रिय लाग्नुको कारण के हो भने यो महिनामा अधिक वर्षा हुन्छ जसले शिवको विषदग्ध तापयुक्त शरीरमा शीतलता प्रदान गर्छ । यो महिनामा प्रकृतिले नै रुद्रीभिषेक गर्छ। शिव पुराणअनुसार शिव स्वयं जल हुन् । भगवान् शिवले सनतकुमारहरूलाई साउन महिनाको महिमा बताउने क्रममा भनेका छन्९ मेरा तीन आँखामध्ये दाहिने आँखा सूर्य, बायाँ आँखा चन्द्रमा तथा बीचको आँखा अग्नि हुन् ।
हाम्रा महिनाहरूको नाम नक्षत्रका आधारमा राखिएको छ । श्रवण नक्षत्रको स्वामी चन्द्रमा हुन् ।चन्द्रमा भगवान् शिवको मस्तकमा शोभायमान छन् । जब सूर्य मिथुनबाट कर्कट राशिमा प्रवेश गरेर साउन महिना सुरु हुन्छ तब सूर्य दक्षिणायन हुन्छन्, सूर्यको ताप कम तथा दिन छोटा हुन थाल्छन् । साथै सूर्यले ताप तथा चन्द्रमाले शीतलता प्रदान गर्छन्, यसकारण सूर्य कर्कट राशिमा आएपछि वर्षा हुन्छ र यसले शिवलाई प्रसन्न तुल्याउँछ ।