काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा बादलले भारतीय हस्तक्षेपका कारण तराईका क्षेत्र डुवानमा परेको बताउनुभएको छ । सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले भारतले सीमा क्षेत्रमा सडकरुपी बाँध बनाउँदा नेपाली भूमि डुवानमा परेको भन्दै यस्तो गतिविधि हस्तक्षेप नै भएको बताउनुभयो ।
मन्त्री थापाले भारतद्वारा सीमा क्षेत्रमा बनाएको बाँध र संरचना हटाउन पहल गरे पनि सार्थक नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “भारतीय प्रधानमन्त्री नेपालमा आउँदा यससम्बन्धी सम्झौताहरु भएका थिए र सम्झौताको सही ढंगले कार्यान्वयन भएको छैन”।
मन्त्रीसँगको छलफलपछि समितिले नेपाली सीमामा भारतद्वारा निर्मित सडक र बाँध तत्काल हटाउन पहल गर्न सरकारलाई समितिले निर्देशन दिएको छ ।