eNepal

बास्तविक कथा:बुवासँगको जम्का भेट- “खै बाबु बिदेसमा नेपालीहरु बोल्न पनि लाज मान्दा रहिछन्”

image

परदेशको व्यस्त दैनीकीबाट यसो बिट मार्दै एक जना दिदीकोमा खाना खाने निम्तो आयो।तीजको रमझम थियो। करिब एक महिना देखी तीजको दर खाने कार्यक्रमहरुले घरमा खाना त्यती धेरै पाक्दैन थियो। उसको पछि लागेर काँहि ज्वाई त कँही भाई अनि बाबुको नाताले मलाई नि खुव तीज लाग्यो यो साल। आफु नाँच्न गाउन रमाईलो गर्न मन पर्ने भएर पनि होला मलाई कुनै आपत्ती थिएन। चेलीबेटीे रमाईलो गर्ने ठाउँमा म पनि घुस्रेर नाँच्थे।हामी बस्थ्यौ सनसाईन त्यो दिनको दर खाने कार्यक्रम थियो ग्लेनरोए।दिदी भिनाजुले आयोजना गरेको कार्यक्रममा हामी साँझ ६ बजे तिर पुगेका थियौ होला। घर चेली बेटीले खचाखच भरिएको थियो। तीजका गीतमा मस्तसँग नाचँ चलिरहेको थियो।

म सिधै घरको पिछाडी एता तीर व्याकयार्ड भन्छन् त्यता तिर लागे। भिनाजुले मस्तसँग रुखका हाँगा भाँचेर सिन्चीत गरेर राख्नु भएको दाउराको आगो बाल्नु भएको रहेछ। जाडोको मौसमनै थियो।दाउराको आगोको रापमा कतै नेपालमा छु कि भन्ने भान हुन्थ्यो।हामी केही दाजुभाईहरु गफ गर्दै बसिरहेका थियौ। साथमा एक जना बुवा पनि हुनुहुन्थ्यो।काम,घर परिवार, नेपालको राजनिती,यताका निती नियम त्यही त हो हामी नेपालीले अक्सर गर्ने गफ।गफ खुव रमाईलोसँग अघि बढिरहेको थियो।

बुवालाई नमस्कार गरे। बुवाले नमस्कार गर्दै नेपाल घर कता भनेर सोध्नु भयो।ढाका टोपी लाउनु भएको नेपालमा शैक्षिक पेसा गर्दै आउनु भएको रहेछ।अनि मैले सोधे- बुवा कति भयो त यता आउनु भएको।कस्तो लागि रहेको रहेको छ त बुवा हजुरलाई।

बुवाले भन्नु भयो रमाईलो नै छ बाबु।तिन महिना भयो आएको।के गर्नु जतिनै सुबिदा सम्पन्न भएनि एेस आराम भनेको नहुने रहेछ।परिवार,घर छिमेक भन्ने रहेन छ। कसैलाई कसको मतलव नि रहेन छ। सब पैसाको पछिमात्र दौडी रहेको देख्छु।छोरोले बावुलाई कस्तो छ बुवा भन्ने समय सम्म मिल्दैन रहेछ।ताल परे जोईपोईको त भेट नहुने रहेछ।फोनका भरमा सब कुरा हुने रहेछ। सार्है व्यस्त जिन्दगी यहाँको।

के गर्नु बाबु एउटा नाती छ त्यसलाई स्कुल पुर्याउँछु अनि लिन जान्छु,त्यहीसँग खेल्छु, बोल्छु।अनि बुवा कतिको रत्तीनु भा छ त यहाँ अस्ट्रेलीयाको हाला पानीमा। बुवाले भन्नु भयो आएको तिन महिना भयो अहिले सम्म त ठिकै छ। तर के गर्नु बावु म पोखरामा बस्छु।मेरा बा अझै छन् गाउँमा। हामी दाजु भाई सबै पोखरामा बस्छौ। आउनुहोस बुवा अब गाँउमा धेरै नबस्नु होस।जोसँग ईच्छा लाग्छ बस्नु होला। हामी राम्री राख्छौं। तर ती बा आउने मन गर्दैनन् किन कि मेरा बाले त्यहाँ हैकम जमाएर बसेका छन्। उहाँलाई आफ्नै गाउँ ठाउँ रमाईलो लाग्छ। छोरासँग बसे पछि बाँधिनु पर्छ। उनीहरुको खटन र परेजमा बस्नु पर्छ। भो बा म त यतै बस्छु मरे नि एतै मर्छु भन्नु हुन्छ। हो त्यही हो बाबु यहाँ पनि मैले जे भनेको पुर्याई दिएका छन् छोरा बुहारीले, राम्ररी राखेका छन् तर यहाँ जे जस्तो भए पनि बाँधीनु परेको छ। अनिहरुको खटनमा बस्नु परेको छ।मेरो हैकम लाग्दो रहेन छ।त्यही भएर केही दिन बस्न घुम्न आउन त ठीकै हो तर सधै बस्न चाँहि सकिदो रहेन छ।

यस्तै भलाकुसारी हुँदै थियो अनि फेरी बुवाले गुनासो गर्न थाल्नु भयो। यसो बिहान साँझ हिड्छु। घरमा बस्दा बस्दा दिक्क लाग्छ अनि कोही नेपाली भेटी हालिन्छ कि भन्दै हामी सबैको पहिचान ढाका टोपी शिरमा ढल्काएर हिड्छु तर कोही पनि बोल्न आउँदैनन्। हुन त सबैलाई फुर्सद कहाँ होला र बोल्ने यो व्यस्त शहरमा। सुन्छु नेपाली बोलेको अनि फर्केर हेर्छु चिन्छन् होला नि यो टोपी लगाए पछि अनि कमसेकम ए बुवा नेपाली पो हुनु हुँदो रहेछ भनेर सोध्लान्, सन्चो बिसन्चो के कस्तो छ।सोध्छन् होला भन्यो। अहँ कोही अगाडी सरेर बोल्न चाहन्नन्।यस्तो देख्दा सार्है नरमाईलो मन कटक्क खाँदो रहेछ।

हामी जतिनै बिदेशी भए पनि, जतिनै पाश्चात्य शैलीले ग्रसीत् भए पनि के हामी आखिरी नेपाली होईन र।के ढाका टोपी लगाएको व्यक्तिसँग बोल्दा ईज्जत जाने डर हुन्छ र। के छ बुवा भन्दा कति आनन्द हुन्छ,कमसेकम यो बिरानो ठाउँमा बोल्ने, सन्चो बिसन्चो सोध्ने त मान्छे रहेछन् भन्ने आभास त हुन्छ। बाबु बरु नदेखेको जस्तो गरेर हिड्छन् तर कदापी बोल्दैनन्।

आज पनि चेलीबेटीहरुले रमाईलो गरेको ठाउँमा जान मन त त्यति थिएन र पनि कोही भेटीन्छन्, यसो गफसफ हुन्छ भनेर आएको।लौ त बाबु अव नातीलाई सुताउने बेला भयो। छोरा बुहारी सखारै उठ्छन् कामको लागि, जान्छु है त बाबु भन्दै हिढ्नु भयो। बाटोमा यसो भेट भयो भने बोल्नु होला है भन्नु भयो।मैले भने बुवा मेरो लागि तपाईले टोपी लगाएर नेपालीको चिनारी दिई रहनु पर्दैन।म हामी नेपाली गन्धले चिन्छु। म जहाँ भेटे नि बोल्छु नि है बुवा ।

यो कुराले मेरो मन कटक्क खाई रह्यो। के हामी परदशीएर कतै स्वार्थी पो भएनौ, कतै हामी आफ्नो स्वार्थको लागि आफ्ना बा आमालाई बन्देजमा त राखी रहेका छैनौ। कतै हामी पैसाको पछि लाग्दा लाग्दै बा आमाका ईच्छा र आकाङ्क्षाहरुलाई बेवास्ता पो गरि रहेका छैनौ।अहँ हामीले कदापी बिर्सनु हुन्न हाम्रो बिगतलाई, हाम्रो जन्म भुमीलाई अनि जन्म दातालाई। यत्तीकैमा मलाई रिमा गुरुङको गीतको हरफ याद आयो- “हाँसेर बोल्दैमा के पो जान्छ र”। कृपया कतै हाम्रा अभिवावकहरु भेट्टीनु भयो वा देख्नु भयो भने बोल्नु होस।छोटो मिठो बोल्नु होस। उनीहरुले कसैले आफुलाई बोलावस्, नेपालीमा गफ गरोस् भन्ने आश गरि रहेका हुन्छन्।।तपाईको सानो सम्बादले पनि उनिहरुलाई यो बिरानो बस्तीमा एक्लो भएको महसुस नहुन सक्छ।आफु पनि रमाऔ अनि आफ्ना अभिवावकहरुलाई रमाउने बाताबरण स्रिजीत गरौं।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

The civilisational beauty of Pompeii

Manoj Poudyal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349