eNepal

बाबाको सम्झनामा…..

image

बाबा तिम्रो मुल्यवान विर्यको कारण आज मैले यो सुन्दर धर्ती देख्ने मौका पाएँ।तिमीलाई लाख लाख धन्यबाद मलाई जन्म दियौ।त्यो चिसो ठाउँ कुहीरोले बाह्रै महिना लुकामारी खेल्ने डाँडा नेपालको दार्जीलिङ सुन्दर नगरी हिलेमा जन्मेको हुँ म। तिमी थिएनौ अरे काम बिशेषले भोजपुर गएका थियौ रे मैले यो धर्तीमा पाईला टेक्ने बेला। चैतको महिना बसन्तको आगमन डाँडा भरि रगताम्य लाली गुराँस फुलेका, कतै सेता चिमाली पनि फक्रेका।हरियाली डाँडाको टुप्पोमा टक्क अडिएको सानो बजार त्यही थुम्कोको एक घरको कालो कोठामा जन्मेको म।

खुसीले बजार रमाएको थियो रे। बधाई दिनेको लर्को लागेको थियो रे। ममीलाई मन पर्ने नाम भारतीय नायक मनोज कुमारबाट अभिप्रेरीत भएर नाम मनोज राख्नु भएको रे। बाबा अनि ममीको छत्रछायाँमा जिन्दगीका पानाहरु पल्टदै गएका थिए।

तिम्रो कम्मरको पेटी अनि ममीको सुईटर बुन्ने काँटाको डरमा मैले आफ्नो जिन्दगीलाई अघि बडाउँदै लगे। तिमीले घुरेर हेर्दा म सुईकुच्चा ठोकेर हतार हतार किताब अघि राखेर बस्थे।शायद त्यो बेला त्यसरि डर नदेखाएको भए आज यो स्थानमा आउने पनि थिईन होला।

हरेक हप्ता बिहीबारको प्रतीक्षामा हुन्थे म कारण बिहीबार हाट बजार लाग्ने गर्थ्यो। एकबजे माईला दाईले कहिले घण्टी बजाउछन् भनेर व्यग्र प्रतीक्षामा हुन्थे म। अनि बिधालय अलि तल रहेकोले माथी सम्म दोवाटोमा आँखा एकनासले हेरी रहन्थे। बिहीबार मेरो लागि बिशेष यस अर्थमा थियो कि त्यो दिन बजारमा गाउँ गाउँबाट आफ्नो बारीमा उव्जेका फलफुलहरु बेच्ने मानिसहरु आउँथे।बिहीबारे हाट लाग्थ्यो हिले बजारमा।अनि खाजासँगै हामीले फलफुल खान पाउँथ्यौ। अनि तिमीले आँपमा दाजु र बहिनीको नाम लेखेर पठाएकोको आँप र सुन्तला खाएर हुर्क्यौ हामी।

मलाई याद छ हाम्रो घरमा मासु पाकेको दिन त्यो हाम्रो घरको वरिपरि छिमेकीलाई थाहा हुन्थ्यो। अहिले सम्झिदा बढो हाँसो उठेर आउँछ।किन कि मासु खाने दिन हाम्रो घरमा नाँचगान हुन्थ्यो। अनि अर्को खुसीको कुरा त्यो दिन पढ्न पर्दैन थियो किनकी मासु खाएपछि जिउमा लाग्छ रे अनि नाँचेर सुत्न पाईन्थ्यो।वरिपरिकालाई थाहा हुन्थ्यो कि आज हाम्रो घरमा मासु पाक्यो भनेर। केहीको कमि थिएन।जसो तसो पुर्याएका थियौ।

म सानै देखि माछा मार्न रहर गर्ने मान्छे। हिले बजारबाट केही मिनेटको दुरीमा हामी ट्युसन पड्थ्यौ। एकदिन लुकेर ट्युसन नपडी म र मेरो माईला मामाको छोरा मामाघर गयौ माछा समाउन। त्यो बेला बर्षाको समय थियो। हिलेबाट करिब ४० मिनेटको दुरीमा मामाघर थियो। मामाघरमा खेतमा बर्षे खोलो थियो अनि त्यही खोलामा साना साना खोले माछा पाईन्थ्यो।जसो तसो माछा समाउँदै थियौ एक्कासी मलाई घरमा मासु ल्याएको याद आयो। समय धेरै भईसकेको थियो। साँझ झिस्मिसे परि सकेको थियो। घर पुग्नलाई मस्त १ घण्टा लाग्थ्यो त्यो पनि जङ्गलको बाटो। बटुवाहरु साँझ परिसकेकोले देखिदैन थियो। भाई र म डर मान्दै मान्दै जङ्गलको बाटो त्यही माथी च्यान डाँडाहुँदै हिले पुगेका थियौ। हतार हतार बुवाले पिट्नु हुन्छ भनेर ठुलोममीको छेउमा गएर बसे।यस्ता यादगार पलहरु कति धेरै छन् जो लेखेर कहिल्यै सकिदैन।

दशैको आगमनसँगै डाईस खेल्नलाई मिलाएर राखेका बाकस भित्रका पैसा झिक्थे। यत्रो बिटामा अलिकती झिक्दा के थाहा हुन्छ भन्ने मेरो मान्यता थियो। अनि पैसा झिक्दै गएर डाईसमा बुझाउँथे। कहिल्यै जितीएन र पनि खेल्न चाहि खुवै मन पर्थ्यो। पछि गन्दा पैसा कमि भएपछि कम्मरको पेटीले तिघ्रामा हानेको सम्झदा थुक्क त्यो बेलाको बुद्दी भनेर अहिले हाँसो उठ्छ।

यसरी जिन्दगीका रमाईला पलहरु बितीरहेका थिए। तिम्रै छत्रछायाँमा मैले जिन्दगीलाई बुझ्दै अनि नजिकबाट जान्ने मौका पाएँ। कहिले मन भरिको मायाँ अनि कहिले पेटीको डामसँगै आफ्नो पढाईलाई निरन्तरता दिदै अघाडी बढि रहे। यसै शिलशिलामा पढाईलाई अघि बढाउने क्रममा म काठमाण्डौ आएँ। पुरै छात्राबृतीमा सिद्धार्थ वनस्थलीबाट मैले कक्षा ५ देखी आफ्नो पढाईलाई निरन्तरता दिदै गए।आमाको न्यानो काख र बाबाको छत्र छायाँमा जिन्दगीको रथलाई घचेड्दै हिड्न सिके।

मलाई राम्रोसँग थाहा छ, बाबा तिमी घरि घरि खोक्थ्यौ पनि,चिसोको खोकी भन्थ्यौ। उपचार गर्थ्यौ।हामीलाई सामान्य रुघा खोकी भन्थ्यौ। तिमी कामको शिलशिलामा प्राय हिलेमा हुन्थ्यौ।मलाई साग मन पर्ने हुँदा साग सुकाएर हिले काठमाण्डौ चल्ने रात्री बसमा पठाएको मैले बिर्सेको छैन। साग भित्र पोको पारेर खसीको आलो मासु पनि पठाएको मलाई याद छ।

मेरो एसएलसी नजिक आउँदै थियो।तिमीलाई अलिक गार्हो हुँदा गएको रहेछ। खोकी पनि बड्दै गएको रहेछ। एक्कासी गार्हो भएछ। मपनि त्यो समय हिले गएको थिए। तिमीलाई गार्हो भएपछि हामीले तिमीलाई काठमाण्डौ लिएर आयौ। काठमाण्डौको त्यो बेलाको राम्रो अस्पताल हिमाल नरसीङ होममा तिम्रो उपचार भयो। केही कम भएको जस्तो देखिएको थियो। डाक्टरले नआत्तिनु त्यस्तो आत्तीन पर्ने अवस्था छैन भन्नु भएको थियो। केही दीनको हस्पिटलको बसाई पछि डाक्टरले डिस्चार्ज गर्यो।हामी घर आयौ। अव त केही हुन्न होला भन्नेमा हामी ढुक्क थियौ।तर अकस्मात फेरी च्यापेछ।पसिना आएछ बाबालाई एक्कासी।हतारमा इमरजेन्सी बिर हस्पिटल लग्यौ। राती बस्न नमिल्ने हस्पिटलमा भनेर हामी फर्क्यौ।रातको करिब दुई बजेको थियो होला दाई अनि अङ्कलहरु आउनु भयो।म निदाएको थिएँ।खुसखुस गरेको कानमा सुने।बाबाले सन्सार छोडी सक्नु भएछ।मन थाम्न सकिएन छ। थाम्न नि कसरि सकियोस।जन्म दिने बाबालाई गुमाउँदा।त्यो कालो रात मलाई अझै याद छ।पुरै सन्नाटा छाएको थियो। घरमा रुवाबासी थियो।

म मरेको लाश भने पछि एकदम डराउने मान्छे। यदि लाश देखे भने कति दिन सम्म एक्लै हिड्नपनि डर लाग्ने मान्छे।पशुपतीनाथ दर्शन गर्न जाँदा भरिसक आर्यघाट तिर नजर नलाने मान्छे।तर त्यही डराउने मान्छेले आफुलाई जन्म दिने बाबालाई दागबत्ती दिनु परेको थियो।
जिन्दगीलाई आत्मासाथ गर्दै अनि बिभीन्न बाधा अवरोहहरुलाई छिचोल्दै अघि बढ्दै गएँ। म यहाँनेर भन्न सक्छु कि मेरो आमाले बाबा र आमाको भुमीका निभाएर हामीलाई शिक्षा दिक्षा दिदै जानु भयो।आफुले नखाई नखाई हामीलाई कहिल्यै केहीको कमि हुन दिनु भएन।अहोरात्र हाम्रो शिक्षा दिक्षामा लागि पर्नु भयो।आज यो ठाउँसम्म पुर्याउनमा आमाले बाबा र आमा दुबैको भुमीका निभाउनु भयो।

बाबा तिमी आज हामी भन्दा टाढा छौ।तर हामीलाई थाहा छ तिमी हरपल हामीसँगै छौ।माथिबाट आशीर्वाद दिई रहेको छौ।हरेक पल दुख होस या सुख हामी तिमीलाई सम्झि रहन्छौ।मेरो लागि बर्षमा एक चोटी आउने बाबाको मुख हेर्ने दिन हरेक दिन जस्तो लाग्छ।यो परदेशको ठाउँमा सोचे जस्तो कर्मकाण्ड गर्न असमर्थ छु।त्यसमा मलाई क्षमा गर्दीनु।तर हरपल तिमीलाई सम्झि रहन्छु। मेरा हरेक प्रगतीमा तिमी भईदिएको भए कति खुसी हुन्थ्यौ होला। खैर हुने हार दैव नटार। कोहीले पनि सदा बाच्ने बुट्टी खाएको छैन।पालो सबैको आउँछ केवल कसैको ढिला कसैको चाँढो मात्र हो।आज फेरी टाडैबाट फेरी एकचोटी तिम्रो मुख हेरे है बाबा।तिमी जहाँ छौ भगवानको साथमा छौ अनि हामीलाई हेरी रहेका छौ।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

The civilisational beauty of Pompeii

Manoj Poudyal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349