eNepal

भैँसीको दूध र तरकारी बिक्री गरेर मासिक पाँच लाखभन्दा बढी आम्दानी

केही गर्छु भन्ने दृढ इच्छा शक्तिका साथ लाग्ने हो भने बाँझो जग्गाबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने तथ्यलाई यहाँका कृषकले थप प्रमाणित गरेका छन् ।

पोखरा महानगरपालिका–१४ छिनेडाँडास्थित राधिका एकीकृत कृषि समूहमा आबद्ध कृषकले भैँसीको दूध र तरकारी बिक्री गरेर मासिक पाँच लाखभन्दा बढी आम्दानी गरेका छन् । उनीहरुले आफूले मात्र आम्दानी गरेको नभएर कैयौँ युवालाई रोजगारी पनि दिएका छन् ।

लामो समयदेखि बाँझो रहेको १६ रोपनी जग्गा भाडामा लिएर सञ्चालन गरेको व्यावसायिक पशुपालन र तरकारी खेतीमा हालसम्म रु एक करोड ५० लाखभन्दा बढी लगानी भएको सो फर्मका किसानले जनाएका छन् । सो कृषि फर्मले विभिन्न शीर्षकमा नेपाल सरकारबाट रु १४ लाख २५ हजार अनुदानसमेत प्राप्त गरेको छ ।

उक्त फर्ममार्फत कृषि विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (इकाइ) तरकारी सुपरजोनको रु १३ लाख ७५ हजार अनुदान र फर्मका तर्पmबाट दुई लाख ५० हजारको लागतमा निर्माण गरिएको तापानुकूलित हाइटेक निर्माण गरी मौसमी एवं बेमौसमी तरकारी खेती गरिएको छ ।

गोठमा रहेका २४ वटा माहु भैँसीमध्ये १९ वटाले दैनिक ९० लिटर दूध दिन्छन् । प्रतिलिटर शुद्ध दूध रु एक सय ४० मा बिक्री गर्ने गरिएको छ । यसरी मासिक रु तीन लाख ७८ हजार बराबरको दूध बिक्री गर्ने गरेको उक्त कृषि समूह सञ्चालक समितिका अध्यक्ष मोहनबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार त्यस फर्मले भैँसीपालनतर्फ कृषि विज्ञ केन्द्र पोखराबाट रु ६० हजार मूल्य बराबरको उन्नतजातको राँगो र पोखरा महानगरपालिकाबाट बायोग्यास प्लान्टका लागि रु ५० हजार अनुदान प्राप्त गरेको छ । सरकारी स्तरबाट आवश्यक सहयोग प्राप्त हुने हो भने ५० वटा दुहुना भैँसी पुर्‍याउने फर्मको लक्ष्य रहेको उहाँको भनाइ छ ।

सर्लाही जिल्लाबाट रु एक लाख ४० हजारमा खरिद गरेर ल्याएको एउटा भैँसीले अहिले पनि दैनिक १५ लिटर दूध दिने गरेको छ । उन्नत जातका भैँसीका पाडी हुर्काउने अभियान नै सञ्चालन गरेको उहाँको भनाइ छ ।

छिमेकी मुलुक भारतबाट खरिद गरेर ल्याएको भैँसी दूध दिने अवस्थासम्म दुहुने र दूध घट्ने बित्तिकै मासुमा बिक्री गर्दा व्यक्तिलाई फाइदा भए पनि राज्यलाई आर्थिक रुपमा ठूलो नोक्सान हुने हुँदा पशुपालनसँगै पाडापाडी हुर्काउनेलाई सरकारी स्तरबाट उचित अनुदानको व्यवस्था गर्नुपर्नेमा पशुपालक कृषकको जोड रहेको छ ।

विसं २०७३ मा दर्ता गरी सञ्चालनमा आएको फर्मले यस पटक छवटा पाडा बिक्री गरेर ९० हजार आम्दानी गरेको छ । भारतमा गएर भैँसी खरिद गर्नुभन्दा गोठमै पाडी हुर्काउने लक्ष्य फर्मको छ । गोठमा अहिले विभिन्न उमेरका १६ वटा पाडापाडी हुर्कंदै गरेका छन् ।

दानामा नभई घाँसमा आधारित भैँसीपालनलाई जोड दिँदै आएको फर्मले १०० रोपनी जग्गामा उन्नत जातको मकै, नेपियर लगायतका विभिन्न दुधालु जातका घाँसका बिरुवा लगाएको छ ।

उत्पादित घाँसलाई दानामा मिसाएर भैँसीलाई खुवाउँदा दूधमा फ्याटको मात्रा बढी हुनाका साथै भैँसीको स्वास्थ पनि राम्रो हुने गरेको उहाँको भनाइ छ ।

पशुपालनसँगै नेपाल सरकार कृषि विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (इकाइ) तरकारी सुपरजोनको अनुदानमा निर्माण गरिएको हाइटेक (हरितगृह) मा यतिखेर गोलभेँडा लटरम्म फलेका छन् ।

भैँसीको मललाई विभिन्न जैविक घाँसहरु राखेर १५ दिनसम्म छोपेपछि बनेको कम्पोष्ट मल तरकारी बारीमा राख्दा टनेलभित्र लगाएको तरकारीले राम्रो उत्पादन दिनुका साथै उपभोक्ताको स्वास्थ्यको समेत ख्याल गरी अर्गानिक उत्पादनमा जोड दिँदै आएको सञ्चालक समितिका सचिव ललितबहादुर बानियाँले जानकारी दिनुभयो ।

एक रोपनी क्षेत्रफलमा रहेको जमीनमा पोखरा–२० भलामस्थित हमाल एग्रिकल्चर एन्ड भेजिटेबल नर्सरीबाट खरिद गरेर चैतको अन्तिम सातामा रोपेका ७३० वटा बिरुवाले यतिखेर लटरम्म फल दिन थालेका छन् । अहिले दैनिक कम्तीमा ३० केजी गोलभेँडा उत्पादन हुने गरेको छ, प्रतिकेजी रु ७० मा बिक्री गर्दै आएको उहाँको भनाइ छ ।

बेलायतमा पाँच वर्ष बसेर स्वदेश फर्कनुभएका उहाँले जन्मभूमिमै परिवारसँगै बसेर पनि केही गर्न सकिन्छ भन्ने सोचका साथ स्थानीय १५ जनाको समूह बनाएर फर्म दर्ता गरी अरूलाई पनि पशुपालन र तरकारी खेती गर्न प्रेरित गर्दै आउनुभएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण उद्योग व्यवसाय चौपट भएको अहिलेको अवस्थामा विदेशबाट फर्किएका नेपाली तथा स्वदेशमै रहेका मजदूर वर्गलाई कृषिमा आकर्षण बढाएर उत्पादनसँग जोड्दै देशलाई आत्मनिर्भर बनाउनेतर्फ तीनै तहका सरकार कटिबद्ध भएर लाग्नुपर्ने यो महत्वपूर्ण अवसरसमेत भएको सरोकारवालाको धारणा रहेको छ ।- (रासस)

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349