जुम मिटिङ गर्दा र्यान्डम आईडी प्रयोग गर्नुपर्छ । जुमको पर्सनल आईडी सेयर गर्नुहुँदैन । ‘इनेबल पर्सनल मिटिङ आईडी’को प्रयोग गर्ने लगायत गरेमा जोखिम कम हुन्छ ।
मिटिङ र क्लासरुमलाई प्राइभेट मोडमा राख्नुपर्छ र यसका लागि मिटिङको ‘पासवर्ड’ क्रिएट गर्नुपर्छ ।
मिटिङको ‘वेटिङ रुम’लाई इनेबल गर्नुपर्छ । यसबाट कोही सीधै मिटिङमा सहभागी हुन सक्दैन । मिटिङको ‘होस्ट’लाई कसलाई मिटिङमा बस्न दिने, कसलाई हटाउने भनेर छान्न सहज हुन्छ । एकैपटक सबैलाई मिटिङमा बस्ने अनुमति नदिए, एक एक गर्दै छान्नुपर्छ ।
‘को–होस्ट’ बनाएर मिटिङको व्यवस्थापनको जिम्मा दिँदा प्रभावकारी हुन्छ । अनावश्यक र अपरिचित सहभागीलाई सकेसम्म भित्रन नदिनु र भिएको भए हटाउनु अत्यावश्यक हुन्छ ।
मिटिङमा सहभागी गराउन पासवर्डको प्रयोग अनिवार्य गर्न सकिन्छ । यस्तो अवस्थामा मिटिङको लिंक, आईडी र पासवर्ड सार्वजनिक गर्नुहुँदैन । यस्ता विवरण छनोट भएका सहभागीलाई मात्रै व्यक्तिगत रुपमा दिनुपर्छ ।
सबै सहभागी आएपछि ‘मिटिङ लक’ गर्न पनि मिल्छ । त्यसो गरिएमा मिटिङको बीचमा कोही पनि छिर्न सक्दैन । सबैसँग ‘स्क्रिन सेयरिङ’ बन्द गर्नुपर्छ । यसमा ‘वन्ली होस्ट’ अप्सन रोज्नुपर्छ । त्यो हुँदा कुनै अश्लील गतिविधि भए पनि सार्वजनिक हुन पाउँदैन ।
च्याट बन्द गर्दा राम्रो हुन्छ, च्याटमार्फत मिटिङमा हुनसक्ने अनैतिक वा अवरोध गर्नेखालका कुरा हुन पाउँदैन । सहभागीको माइक्रोफोन अफ (म्युट) गर्न सकिन्छ । जो बोल्ने हो, उसलाई समय दिएपछि मात्रै ‘अनम्युट’ गर्न सकिन्छ । सहभागीलाई कुनै कुरा राख्नुपर्ने भएमा ‘रेज ह्यान्ड’ अप्सनको प्रयोग गर्न सकिन्छ ।