काठमाडौं,
कोरोना भाइरसका कारण स्थगित स्पेनको शीर्ष फुटबल लिग ला लिगा ३ महिनाभन्दा लामो समयपछि आजदेखि सुचारु हुँदैछ छ ।कोरोनाअघि लिगमा अन्तिम खेल भएपछि ठीक ९२ दिनपछि ला लिगा फर्किंदा पहिलो खेलमा सेभिल्लाका दुई क्लब सेभिल्ला र रियलबेटिसको भिडन्त हुनेछ । यसै खेलसँगै स्पेनमा फुटबल फर्किनेछ ।
यसअघि युरोपका टप–५ लिगमा फ्रेन्च लिग वान रद्द भइसकेको छ भने जर्मन लिग बुन्डेसलिगा सुचारु भइसकेको छ । प्रिमियर लिग, सिरी ए पनि सुचारु गर्न खेल तालिका सार्वजनिक भइसकेको छ । दुई साताअघिकै घोषणाअनुसार ला लिगा आज रातिबाट सुचारु हुनलागेको हो ।
ला लिगामा हाल २७औं साताका खेल सकिएका छन् । लिगका अन्तिम ११ चरणका खेल बाँकी छँदा बार्सिलोना ५८ अंकसहित शीर्षस्थानमा रहेको छ भने रियल मड्रिड ५६ अंकसहित दोस्रो स्थानमा रहेको छ । सेभिल्ला ४७ अंकसहित तेस्रो स्थानमा रहँदा ४६ अंकभएको रियल सोसिडाड चौथो स्थानमा छ । ४६ नै अंक भएको गेटाफे पाँचौं स्थानमा रहँदा ४५ अंक भएको एथ्लेटिको मड्रिड छैटौंस्थानमा छ ।
सेभिल्ला र बेटिसको खेल नेपाली समयअनुसार शुक्रबार बिहान राति १ः४५ बजेबाट सुरु हुनेछ । खेल सेभिल्लाको घरेलु मैदानमा हुनेछ। हाल अंक तालिकामा सेभिल्ला तेस्रो स्थानमा रहँदा बेटिस ३३ अंकसहित १२औं स्थानमा रहेको छ । शीर्ष चारको दौडमा यथावत रहनसेभिल्लाका लागि आजको खेल निकै महत्त्वपूर्ण हुनेछ ।
कोरोनाका कारण स्पेनिस सरकारले लकडाउनका सबै नियम पालना गर्दै लिग सुचारु गर्न आदेश जारी गरेको छ । सोक्रममा खेलाडी, प्रशिक्षक, अन्य कर्मचारी सबैले कडा स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्नेछ । अहिले सबै खेल खाली रंगशालामा दर्शकबिनै हुनेछन् ।
तर, ला लिगाले खेलको रोमाञ्चकता मर्न नदिन भन्दै रंगशालामा कृत्रिम दर्शकको व्यवस्था गरेको छ । अर्थात्, रंगशालामा दर्शक नभएपनि विभिन्न प्रविधि जोडेर नक्कली दर्शकको उपस्थिति गराइनेछ । रंगशालामा अन्य बेला दर्शक भएकै बेला जस्तो हुटिङ, ब्यानर, झन्डाको व्यवस्था गरिनेछ । रंगशालामा प्रविधि जोडेर दुई टोलीबीच अघिल्लोपटक खेल हुँदाको ‘साउन्ड प्ले’ गरिनेछ, जसका कारणखेलाडीले रंगशालामा दर्शक भएको र सधैंकै जस्तो अनुभूति गर्नेछन् ।
उता, यस्तो प्रविधिको जडानबाट टिभी तथा अनलाइनबाट खेल हेर्ने दर्शकले पनि रंगशालामा सधैंको जस्तो रौनक र उत्साह अनभूत गर्नपाउनेछन् । लिगले स्पनेमा ला लिगा प्रशारण अधिकार पाएको टिभीसँग मिलेर यस्तो प्राविधिक व्यवस्था गरेको हो ।
आज एक खेल भएपछि अन्य खेल भने अर्को दिन मात्रै हुनेछ । जसमा बार्सिलोनाले कोरोनापछिको पहिलो खेल जुन १४ मा अवे मैदानमामालोर्सासँग खेल्नेछ भने रियल मड्रिडले आफ्नो घरमा एइबारसँग खेल्नेछ ।