राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।
नेतृत्वमा सहमति जुटेसँगै जनता समाजवादी पार्टी दर्ताका लागि बाबुराम भटराई, महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतोलगायतका नेताहरु निर्वाचन आयोग पुगेका थिए । उनीहरुले दल दर्ताका लागि आवश्यक कागजात बुझाएका थिए ।
आयोगले दल दर्ताका लागि १३९२ नम्वरमा निवेदन दर्ता गरेको छ । जनता समाजवादीका बरिष्ठ नेता राजेन्द्र महत्तोले सवै प्रक्रिया पुरा गरेर दल दर्ताका लागि निवेदन दिएको बताउनुभयो ।
उहाँले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको अध्यक्षमा महन्त ठाकुर र उपेन्द्र यादव रहने बताउनुभयो । त्यस्तै ५१ सदस्यीय कार्यकारीणि समितिमा डा बाबुराम भट्टराई अशोक राई र राजेन्द्र महतो वरिष्ठ नेता रहनुभएको छ । त्यस्तै राजनीतिक समिति १११ सदस्यीय र केन्द्रीय समिति सात सय १ सदस्यीय रहने महत्तोले बताउनुभयो ।
उहाँले नेपालको बैकल्पीक शक्तिको रुपमा जनतासमाजवादी रहने भन्दै अन्य साना दलहरुसंग पनि एकताको प्रयास जारी राख्ने धारणा राख्नुभयो ।
दुई दलले वैशाख १० गते राति एकताका लागि सैद्धान्तिक सहमति गरेका थिए । त्यसको भोलिपल्ट अर्थात ११ गते नेताहरु निर्वाचन आयोग पुगेर नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए ।
राजनीतिक दलसम्बन्धी ऐनअनुसार दुई पार्टीबीच एकता गर्ने घोषणा गरेको ४५ दिनभित्र दलको विधान, पार्टी नेतृत्व, पार्टी एकता गर्न गरिएको सहमति, दुवै पक्षका केन्द्रीय सदस्यको हस्ताक्षर, संयुक्त बैठकको निर्णय बुझाउनु पर्ने व्यवस्था छ ।
रासस