एजेन्सी, जेठ २१
स्पेनिस क्लब बार्सिलोनाले आगामी समर सिजनमा इटालियन क्लब इन्टर मिलानका युवा फरवार्ड लौटारो मार्टिनेज भित्र्याउने करिब–करिब पक्का भएको रिपोर्ट बाहिरिएको छ । अर्जेन्टिना र स्पेनका मिडियाले यसबारे खबर प्रकाशित गरेका छन् । अर्जेन्टिनाको ‘टिवाईस्पोर्ट्स’ र स्पेनको ‘स्पोर्ट्स’ पत्रिकाले मार्टिनेजसँग बार्सिलोनाले व्यक्तिगत रूपमा सहमति जुटाएको खबर छ ।
बार्सिलोनाका अधिकारीले क्लब मिलानलाई तिर्नुपर्ने ‘सरुवा फि’ बाहेक खेलाडीलाई दिइने सेवा–सुविधा, भत्ता र अन्य प्राविधिकविषयमा सहमति जुटाएको रिपोर्ट छ । ‘स्पोर्ट्स’ को नयाँ अंकमा फ्रन्ट पेजमै ‘लौटारो– बार्सिलोना ओके’ शीर्षकमा एक रिपोर्ट प्रकाशितगरेको छ, जसमा बार्सिलोना सरुवाका लागि अर्जेन्टिनी फरवार्ड सहमत भएको उल्लेख छ ।
बार्सिलोनासँग आन्तरिक छलफलक्रममा मार्टिनेज तलब–सुविधादेखि लिएर सम्झौता अवधिमा सहमत भएका हुन् । रिपोर्टअनुसारसमरमा बार्सिलोनामा अनुबन्ध भएपछि मार्टिनेजले वार्षिक १२ मिलियन युरो तलब पाउनेछन् । यसबाहेक बोनस रकममा पनि सहमतिजुटेको छ । र, बार्सिलोनासँग उनले सुरुआतमा ५ सिजनका लागि सम्झौता गर्नेछन् ।
मिलानमा मार्टिनेजको रिलिज क्लज १११ मिलियन युरो रहेको छ । बार्सिलोनाले २२ वर्षका यी खेलाडी भित्र्याउन कम्तीमा सो रिलिजक्लज बराबरको मूल्य तिर्नुपर्छ । तर, मिलानले यसअघि पटक–पटक मार्टिनेज नेबेच्ने बताउँदै आएको छ ।
बार्सिलोना आफ्नो आक्रमण लाइनमा उरुग्वेन फरवार्ड लुइस स्वारेजको विकल्पमा दीर्घकालीन रूपमा मार्टिनेज भित्र्याउन चाहन्छ । उनीयुवा खेलाडी हुनुका साथै अर्जेन्टिनाकै भएकाले कप्तान लिओनल मेस्सीसँग उनको सेट जम्ने बार्सिलोनाको बुझाइ छ । अर्जेन्टिनाबाटमेस्सी र मार्टिनेज सँगै खेल्छन् । मार्टिनेज मिलानका लागि प्रमुख गोलकर्ता खेलाडी हुन् ।