eNepal

अमेरिकामा रङ्गभेदी आन्दोलनले उग्र रुप लिदै

लुइभेल, केन्टकी । लुइभेल शहरमा राती ९ वजेवाट लागु हुने गरी कर्फ्यु घोषणा गरिएको थियो । तर मध्यरातसम्म पनि प्रदर्शनकारी सडकमा थिए । प्रहरीले आन्दोलन मत्थर वनाउन अश्रु ग्यांस हान्यो तर त्यसको केही प्रभाव परेन । केन्टकी राज्यको प्रमुख शहर लुइभेल अशान्त भएको त तीन दिन मात्रै भयो, मिनसोट्टा र अन्य राज्य वल्न थालेको हप्ता दिन हुन लाग्यो । शनिवारको रात त अमेरिकाका लागि निकै डरलाग्दो सावित भयो, जहां प्रहरीले शान्ति कायम गराउन गोली चलाउनु पर्यो, थप एकजनाको मृत्यु भयो, दर्जनौ भवन र सवारी साधनहरु जले, सयौं प्रदर्शनकारीहरु पक्राउ परेका छन् । जनतामा त्रास थपिएको छ, अव के हुने होला ?

अमेरिकामा रंगभेद विरुद्धको आन्दोलन यसरी सल्किएको छ, जीऊधनको सुरक्षाका लागि १६ राज्यका २५ वटा शहरमा स्थानीय शहर प्रशासनले शनिवार रातभरका लागि कर्फ्यु आदेश जारी गर्नुपरेको थियो तर कर्फ्युको अवज्ञा गर्दै धेरै शहरमा प्रदर्शन भइरहे ।

अमेरिकी सञ्चार माध्यमहरु अहिले कोरोना संक्रमणलाई छाडेर रंगभेदविरुद्धको आन्दोलनलाई प्राथमिकताका साथ प्रकाशन प्रसारण गरिरहेका छन् । कर्फ्यु पालना गराउन प्रहरीलाई धेरै संकट परिरहेको थियो किनकी धेरै ठाऊहरुमा आन्दोलनकारीहरुले प्रहरीमाथि ढुंगामुढा र पटकाहरुले आक्रमण गरेका थिए ।

अहिलेसम्ममा अमेरिकाका ३० वटा शहरमा आगो सल्किएको छ र वढिरहेको छ । शनिवार राति क्यालिफोर्निया राज्यको वेभर्ली हिल्स र लस एन्जल्स, कोलोराडो राज्यको डेनभर, फ्लोरिडा राज्यको मायामी, जर्जिया राज्यको एटलान्टा, इलिनोयस राज्यको सिकागो, केन्टकी राज्यको लुइभेल, मिनसोट्टा राज्यको मिनियापोलिस र सेन्ट पल, न्यूयोर्क राज्यको रोचेष्टर, ओहायो राज्यको सिन्सिनाटी, क्लिभल्याण्ड, कोलम्वस, डेटन, र टोलेडो, ओरेगन राज्यको युजेन्स र पोर्टलेन्ड, पेन्सिलभेनिया राज्यको पिट्सवर्ग र फिलाडेल्फिया, साउथ क्यारोलिना राज्यको चाल्र्सटन र कोलम्विया, टेनेसी राज्यको न्यासभिल, युटा राज्यको साल्ट लेक सिटी, वासिंगटन राज्यको सियाटल र विन्सकन्सिन राज्यको मिल्वकी शहरहरुमा रातभर कर्फ्यू जारी गरिएको थियो । सवैभन्दा वढी शहरमा कर्फ्यु जारी गर्नुपर्ने राज्यमा ओहायो परेका छ जसका ५ वटा शहरमा कर्फ्यु थियो ।

मिनियापोलिसमा ४६ वर्षीय अश्वेत व्यक्ति जर्ज फ्लोयडले स्थानीय पसलमा मेन्थोल चुरोट किन्नका लागि नक्कली २० डलर दिएपछि वोलाइएका प्रहरीले अत्याधिक वल प्रयोग गरेको कारण ती व्यक्तिको मृत्यु भएको घटनाले अमेरिकालाई अशान्तिको वाटोमा लगिरहेको छ ।

जर्ज फ्लोयडलाई प्रहरी अधिकारी डेरेक सउभिनले अत्याधिक वल प्रयोग गरेर घांटीमा घुंडाले थिचेको कारण उनको मृत्यु भएको प्रदर्शनकारीहरुको दावी छ, जुन कुरा सार्वजनिक भएका भिडियोहरु पुष्टि गरेका छन् । अत्याधिक वल प्रयोग गर्ने प्रहरी अधिकारीहरुलाई कारवाही गरी सकिएपनि आन्दोलनकारीहरुले कारवाही पर्याप्त नभएको दावी गर्दै आएका छन् । उनीहरुले घटनामा संलग्न चारैजना प्रहरी अधिकारीहरुलाई कारवाही गर्नुपर्ने माग गरेका छन् । आन्दोलनको प्रवेश विन्दु यो भएपनि विगतमा अश्वेतमाथि भएका दमनहरु अहिले एकाएक सतहमा आएका छन्, जसरी लुइभेल मार्चमा प्रहरीले घरमानै गोली हानेर हत्या गरेकी व्रियोना टेलर्सले न्याय पाउनु पर्ने माग गर्दै तीन दिन देखि अशान्त छ ।

प्रदर्शन, तोडफोड र लुटपाट धेरै शहरहरुमा सामान्य जस्तो भइसकेको छ । कोरोना संक्रमणवाट थिलथिलो वनेको अमेरिकालाई अव यो रंगभेद विरुद्धको आन्दोलनले त्राहीत्राही वनाएको छ किनकी यो आन्दोलनले एकातिर राष्ट्रिय सम्पत्तिहरुको क्षति भइरहेको छ भने कोरोना संक्रमण अझ तेज रुपमा वृद्धि हुनेछ । प्रदर्शनलाई रोक्न धेरै राज्यहरुले नेशनल गार्डलाई परिचालन गरेका छन् तथापि अत्यावश्यक अवस्थामा वाहेक प्रहरीले वल प्रयोग गरेको छैन ।

प्रदर्शनकारीहरु निकै आक्रामक रुपमा अगाडि वढेका छन् जसले सञ्चार माध्यम, प्रहरीका सम्पत्ति र सार्वजनिक सम्पत्तिमाथि आक्रमण गर्दै गएका छन् ।

प्रदर्शनकारीहरुले जर्जियाको एटलान्टामा सीएनएनको मूख्यालयमा आक्रमण गरे फक्स न्यूज टोलीलाई हिजो मात्रै राजधानी वासिंगटन डिसीमा आक्रमण गरे । आन्दोलनले विस्तारै जनजीवनलाई अस्तव्यस्त वनाउने देखिएको छ किनकी आज राती वालमार्टले आफ्ना सम्पूर्ण स्टोरहरु वन्द राख्यो भने टार्गेटले १७५ वटा आफ्ना स्टोरहरु शान्ति कायम नहुन्जेल वन्द राख्ने घोषणा गरेको छ । यो अशान्ति वढ्दै जांदा स्टोरहरु वन्द हुने क्रम वढ्दै जान्छ र कोरोना जस्तो महामारीमा पनि अभाव नभएको खाद्यान्नको अभाव अव देखिन सक्नेछ ।

सरकारले प्रदर्शन गर्न निकै प्रयास गरेपनि यो क्रम शान्त हुन निकै समय लाग्ने देखिएको छ । प्रदर्शनकारीहरुले वासिंगटनस्थित ह्वाइट हाउसदेखि न्यूयोर्कस्थित ट्रम्प टावरसम्म घेरावन्दी जारी राखेका छन् । प्रदर्शनकारीहरुले नो जस्टिस नो पिस (न्याय नभइ शान्ति हुंदैन), व्लाक लाइभ्स म्याटर्स (कालाहरुको पनि जीवनको अर्थ हुन्छ), आइ क्यान्ट व्रिथ (म सास फेर्न सक्दिन) जस्ता नारा लगाउने गरेका छन् । प्रदर्शनकारीहरुले रंगभेदका कारण नै प्रहरीले अश्वेतहरुमाथि ज्यादति गर्ने गरेको आरोप लगाउंदै आएका छन् ।

Related posts

मन्त्रिपरिषद् विस्तारः रक्षामा मिनेन्द्र रिजाल, कानूनमा दिलेन्द्रप्रसाद बडु

Manoj Poudyal

यूकेको रेड लिष्टबाट नेपाल पनि हट्यो

Manoj Poudyal

बेलायतमा प्रथम भिसी कुलवीर थापाको शालिक अनावरण

Manoj Poudyal

नारायणहिटी दरबार संग्रहालयबाट श्रीपेच चोर्ने प्रयास

Manoj Poudyal

भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा ७६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

Manoj Poudyal

श्राद्ध सम्बन्धि केहि वैदिक सनातन नियम

Manoj Poudyal